धनगढी पोष्ट शनिबार, २१ असार २०८२   July 5, 2025

सुदूरपश्चिममा यस वर्ष रासायनिक मलको अभाव नहुने

सुदूरपश्चिममा यस वर्ष रासायनिक मलको अभाव नहुने

धनगढी । सुदूरपश्चिममा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । विगतका वर्षहरू भन्दा यस वर्ष मलको आपूर्ति सहजरुपमा भइरहेकाले मलको अभाव नहुने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवल सिंह रावलले यस वर्ष आफूहरूलाई दिएको लक्ष्य अनुसार मल प्राप्त पाएकाले अन्य वर्षको तुलनामा यस वर्ष मलको अभाव नहुने बताए । 

किसानले डिएपी मल लगी सकेको भए पनि अब युरिया मलको माग आउन थालेको उनले बताए । यस वर्ष लक्ष्य अनुसार युरिया मल आइसकेको भए पनि अझै थप मल एक हप्ता भित्रै आइपुग्ने उनले बताए । 

सुदूरपश्चिममा मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडसँग युरिया मल १५ हजार पाँच सय मेट्रिक टन बिक्री तथा वितरण गर्ने कोटा निर्धारण गरिएकोमा हालसम्म १६ हजार चार सय १५ दशमलव ७५० मेट्रिक टन बिक्री तथा वितरण भइसकेको छ, भने एक हजार एक सय ८४ दशमलव ३५० मेट्रिक टन मौज्दात रहेको छ । 

यसै गरी, डिएपी ११ हजार एक सय मेट्रिक टन बिक्री तथा वितरणको कोटा निर्धारण गरिएकोमा १० हजार छ सय ४४ दशमलव ४५० मेट्रिक टन बिक्री तथा वितरण भइसकेको छ, भने चार सय २८ दशमलव ०५० मेट्रिक टन मौज्दात रहेको छ । 

पोटास सात सय ७० मेट्रिक टन बिक्री तथा वितरण कोटा निर्धारण गरिएकोमा पाँच सय ९० दशमलव ९५० मेट्रिक टन बिक्री तथा वितरण भइसकेको छ, भने पाँच सय ६८ दशमलव २०० मेट्रिक टन मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । 
प्रादेशिक प्रबन्धक रावलका अनुसार विगतका वर्षहरू भन्दा यस वर्ष सन्तोषजनक नै मल बिक्री तथा वितरण भइरहेको छ । यस वर्ष मल पाएनाँै भन्नेर किसानहरूबाट कुनै पनि गुनासो अहिलेसम्म सुन्न नपरेको उनले बताए । उनले यस वर्ष धेरै जस्तो किसानहरूले मल पाइसकेको र गत वर्षको जस्तो मल हाहाकारको अवस्था नरहेको बताए । 

कैलारी गाउँपालिका वडा नम्बर ९ मा रहेको परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले कोटा अनुसार आफूहरूले मल पाइनै रहेको बताए । 

विगतका वर्षहरूमा मलका लागि कयौँ दिन धाउन परे पनि यस वर्ष सहजै मल पाएको उनले बताए । अहिले कोटा निर्धारण गरेकाले जति बेला पनि आएर मल लैजान सक्ने वातावरण बनेको उनको भनाइ छ ।