धनगढी पोष्ट
आइतबार, २२ असार २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बर्दियास्थित रेशम चौधरीको निवासमा दुई जनाबीच भेटवार्ता भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह आइतबार बिहान चौधरी निवास पुगेका थिए ।
बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो ।
२० असारमा सुदूरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो । शनिवार नै मुख्यमन्त्री शाह र सभापति देउवाबिच बुढानिलकण्डमा भेटवार्ता भएको थियो ।
देउवाले नाउपासँग छलफल र संवाद गरेर अघि बढ्न सुझाव दिएपछि मुख्यमन्त्री शाह र संरक्षक चौधरीबीच भेट भएको हो ।
भेटमा मुख्यमन्त्री शाहले देउवाको सन्देश सुनाएका थिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारमा सहभागी हुन चौधरीलाई आग्रह गरेका थिए ।
जवाफमा चौधरीले तत्काल सरकारबाट फिर्ता हुने निर्णय भइसकेको भन्दै सत्ता गठबन्धनका विषयमा केन्द्रमै छलफल हुने बताएका थिए ।