धनगढी पोष्ट
आइतबार, २२ असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा चैते धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चैते धानको उत्पादनमा वृद्वि भएको हो ।
कृषि ज्ञान केन्द्र कैलालीका बालि संरक्षण अधिकृत रामनारायण चौधरीका अनुसार यस वर्ष एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा आठ हजार एक सय मेट्रिकटन धान उत्पादन भएको छ । जसको उत्पादकत्व पाँच दशमलव चार मेट्रिकटन÷हेक्टर (५४ क्विटल) उत्पादन हो ।
गत वर्ष एक हजार एक सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा पाँच हजार सात सय २० मेट्रिक टन उत्पादन भएको उनले बताए । जसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन (५२ क्विटल) उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष उत्पादकत्व दुई मेट्रिकटन÷हेक्टर (दुई क्विटल) बढी उत्पादन भएको छ ।
बालि संरक्षण अधिकृत चौधरीका अनुसार बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो छ । उनले भने, ‘चैते धानले लामो समयसम्म घामको प्रकाशहरु पाउँछ र जसले गर्दा रोग किराहरु एकदमै न्यून मात्रामा लाग्छ । लाग्दैन भन्ने मिलेन तर एकदम न्यून मात्रामा फाटफुट त्यो कारणले गर्दा उत्पादन बढ्ने भइहाल्यो ।’
सरकारी निकाय तथा गैरसरकारी निकायहरुको सहयोगमा विभिन्न ठाउँहरुमा सिंचाइका कार्यक्रमहरु वर्षेनी थप भइरहेको उनले बताए । किसानका खेतखेतमा विद्य्तीकरणले गर्दा सिँचाई सुविधा पुगेकाले गर्दा पनि चैते धान खेतीतर्फ किसानको आकर्षण बढेको उनले बताए ।
पहिला बोरिङबाट सिँचाई गर्दा किसाहरुले लागत बढी लाग्ने गरेको भए पनि अहिले विद्युतीकरणले गर्दा लागत कम लाग्ने भएकाले पनि धान उत्पादनमा वृद्धि भएको उनले बताए । किसानहरुले खाली समयलाई पनि सदुप्रयोग गर्दै चैते धान खेती उत्पादन गरिरहेको उनको भनाइ छ ।
किसानहरुमा एक अर्काको देखासिकिले गर्दा पनि चैते धान तर्फ किसानको आर्कषण बढेको उनले बताए । यस वर्षको मौसमले धानबालीमा कुनै पनि क्षेती नगरेकाले समयमै किसानले धान बाली भित्र्याउन पाएको उनले बताए । उनका अनुसार वर्षेनी चैते धान खेतीका लागि धान जोन कार्यक्रमहरू सञ्चालनमा गर्दै आएको छ ।
जिल्लामा सबै भन्दा बढी भजनी नगरपालिकामा चैते धान खेती गर्ने गरिदै आइएको छ भने पछिल्लो समय कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि चैते धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।