धनगढी पोष्ट मङ्गलबार, २४ असार २०८२   July 8, 2025

पोषण सामग्रीको गुणस्तर जाँच प्रतिवेदन तीन दिन भित्र पशे गर्न निर्देशन

पोषण सामग्रीको गुणस्तर जाँच प्रतिवेदन तीन दिन भित्र पशे गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले पोषण झोलामा रहेका खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन तीन दिन भित्र समितिमा पेश गर्न प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । 

सामाजिक विकास समितिको सोमबार बसेको बैठकले स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रलाई पोषण झोलामा समावेश गरिएका खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको प्रतिवेदन तीन दिन भित्र समितिको सचिवालयमा पेश गर्न निर्देशन दिएको हो ।

केन्द्रले खरीद गरेर गोदाममा राखेको पोषण झोलामा समेटिएका खाद्य सामग्रीहरु गणुस्तरहीन भएको समाचार प्रकाशित भएपछि सामाजिक विकास समितिले चासो राख्दै गुणस्तर परीक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिएको समितिका सभापति धर्म राज पाठकले जानकारी दिए ।

समितिले समाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी र प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रका निमित्त प्रमुख झनक ढुंगानालाई समितिमा बोलाएर छलफल गर्दा उनीहरुले खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको बताएपछि गुणस्तर प्रमाणिकरण गरेको प्रतिवेदन समितिमा पेश गर्न निर्देशन दिएको हो । 

“केही दिन अघि बाजुरामा कुपोषणका कारण एक बालकको ज्यान गएको समाचार प्रकाशित भयो”–सामाजिक विकास समितिका सभापति पाठकले भने–“अनि पोषण झोलामा गुणस्तरहीन सामग्री राखेर किनियो भन्ने समाचार पनि आयो, त्यसपछि मन्त्रालयका सचिव र आपुर्ति केन्द्रका प्रमुखलाई बोलाएर छलफल गर्दा गुणस्तर प्रमाणित गरिएको बताएपछि समितिले त्यो प्रतिवेदन तीन दिन भित्र पेश गर्न निर्देशन दिएको हो ।”

समितिको बैठकमा स्वास्थ्य आपुर्ति केन्द्रका निमित्त निर्देशक ढुंगानाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तर प्रमाणित गराएर मात्रै वितरणको तयारी गरिएको बताए । पोषण सामग्री खरीदका भएको ढिलाई बारे प्रदेश सभा सदस्यहरुको प्रश्नको जवाफ दिदै मन्त्रालयका सचिव डा. रेग्मीले चालू आर्थिक बर्ष बर्षको बजेट दुई महिना ढिलो गरी पारित भएको र खरीद प्रक्रिया शुरु गर्ने बेलामा प्रदेशका लेखा समुहका कर्मचारीको आन्दोलनका कारण टेण्डर प्रक्रिया समयमै शुरु गर्न नसकेर  ढिलाई भएको बताए । 

स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रले गएको चैत १८ गते टेण्डर आव्हान गरी प्रदेशका नौ वटै जिल्लाका पोषणको समस्या रहेका गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि पोषणको मात्रा पु¥याउन पोषण झोला खरीद गरेको थियो ।

केन्द्रले खरीद गरेको पोषण सामग्री गुणस्तरहीन रहेको समाचार प्रकाशित भएपछि समितिले केन्द्र संग खरीद प्रक्रियाका कागजपत्रहरु मागेको र कागजपत्रहरु अध्ययनपछि केन्द्रका निमित्त निर्देशक झनक ढुंगाना र सामाजिक विकास समितिका सचिव डा। हेमराज रेग्मीलाई समितिमा बोलाएर छलफल गरेको थियो । 

बाजुरामा कुपोषणले बालकको ज्यान गएको बिषयमा चासो राख्दा स्वास्थ्य आपुर्ति केन्द्रका निमित्त प्रमुख ढुंगानाले बालबालिकाका लागि पोषणयुक्त तयारी खाना प्रदेश, जिल्ला र स्थानीय तहका स्वास्थ्य संस्थामा अभाव नरहेको, तर मृत्यु भएका बालक स्वास्थ्य संस्थाको पहुँचमा नपुगेको जानकारी पाइएको बताए ।

उनले कुपोषित बालबालिकाको खोजी गरी उनीहरुलाई पोषण उपलबध गरउानु आफुहरुको दायित्व भएपनि खोजी गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे । उनले आगामी दिनमा त्यसतर्फ ध्यान दिइने बताए ।