धनगढी पोष्ट शनिबार, ०३ साउन २०८२   July 19, 2025

शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

काठमाडौं । पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोमबारसम्म नेपालभर भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जनाएका छन् ।

“शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म नेपालभरि भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहनुहोला,” पोखरेलले फेसबुकमा लेखेका छन् ।

उनका अनुसार, मनसुनी प्रणाली भारततर्फ रहेमाले नेपालमा शनिबार दिउँसोसम्म केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि शनिबार मध्यरातदेखि पूर्वी तराई तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मध्य तराईसहित देशभर भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।

ूसोमबार दिउँसोदेखि पश्चिम र सुदूरपश्चिममा अत्यधिक वर्षा हुने । आइतबार–सोमबार वाग्मती, कोसी र गण्डकी जलाधार क्षेत्रमा भीषण वर्षा हुनेछ । आइतबार र सोमबार लामो दुरीको यात्रा नगरौँ । खासगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग, बुटवल–नारायणगढ खण्ड भुलेर पनि यात्रा नगरौँ,ू उपाध्यायले फेसबुकमा लेखेका छन् ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि शनिबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।