धनगढी पोष्ट
आइतबार, ०४ साउन २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका– ४ स्थित जनता नमुना मा।वि।का ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीका अनुसार शिक्षक पन्तको घर धनगढी उपमहानगरपालिका तारानगर हो ।
‘शनिबार राति टीकापुरको लोकल स्टेशन होटलमा खाजा खाइरहेको अवस्थामा पन्त एक्कासी बेहोस भएका थिए,’ डीएसपी बुढाथोकीले भने, ‘उपचारका लागि पन्तलाई टीकापुर अस्पतालमा पुगाइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् ।’
घटना शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीले पन्तसँगै खाजा खाइरहेका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पेयपदार्थमा विषादी सेवन गरेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।