धनगढी पोष्ट आइतबार, ११ साउन २०८२   July 27, 2025

धनगढीका सहायक वन अधिकृत यादव घुससहित पक्राउ

धनगढीका सहायक वन अधिकृत यादव घुससहित पक्राउ

धनगढी । डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादव घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको विशेष टोलीले यादवलाई सोमबार दिउँसो डिभिजन वन कार्यालय धनगढीबाटै पक्राउ गरेको हो।

पक्राउका क्रममा यादवको साथबाट घुसस्वरूप लिएको नगद ७ लाख ३१ हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार यादवले सेवाग्राहीसँग मागेको रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान अघि बढाइएको आयोगले जानकारी दिएको छ।

यसअघि पनि विभिन्न पालिकामा कार्यरत कर्मचारीहरू घुससहित पक्राउ पर्ने क्रम बढिरहेका बेला वन क्षेत्रका एक उच्च अधिकृत नै यति ठूलो रकमसहित पक्राउ परिनुले सरकारी निकायभित्रको भ्रष्टाचारमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।