धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

कञ्चनपुरमा एक वडा कार्यालयमा चोरी

कञ्चनपुरमा एक वडा कार्यालयमा चोरी

धनगढी । कञ्चनपुरमा एक वडा कार्यालयमा चोरी भएको छ । बुधबार राती जिल्लाको लालझाडी गाउँपालिका– ५ को वडा कार्यालयमा चोरी भएको हो । 
अज्ञात समूहले कार्यालयको ढोका तोडेर महत्वपुर्ण सामग्रीहरु चोरेर लगेको वडाध्यक्ष पहलबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार चोरहरू कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला तोडेर प्रवेश गरेका थिए । कार्यालयबाट एक थान कम्प्युटर, एक थान सीपीयू, एक थान ल्यापटप र एक थान भित्ते पङ्खा चोरी भएको उनले बताए ।

वडा कार्यालय हाल भाडाको घरमा सञ्चालित थियो । केही महिनापछि आफ्नै भवनमा सर्ने तयारीमा रहेकाले सीसीटीभी क्यामेरा जडान गरिएको थिएन । नजिकै रहेको स्वास्थ्य चौकीको सीसीटीभी क्यामेरामा पनि चोरीमा संलग्नहरू देखिएका छैनन् ।

वडा सचिवले कामकाजका लागि प्रयोग गर्ने मुख्य कम्प्युटर नै चोरी भएपछि बिहीबारदेखि वडाको सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र खोजीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।