धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

नेपाल-भारत जोड्ने बैतडीका सीमा आजदेखि बन्द

नेपाल-भारत जोड्ने बैतडीका सीमा आजदेखि बन्द

बैतडी — बैतडीका नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा आज (शुक्रबार) साँझ ७ बजेदेखि बन्द हुने भएको छ । झुलाघाट नाकासहित तल्लोसोराड क्षेत्रमा सञ्चालन रहेका घाटहरु बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 

भारतको उत्तराखण्ड प्रदेशमा भइरहेको पञ्चायत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर शुक्रबार साँझ ७ बजेदेखि साउन १२ गते मतदान प्रक्रिया सम्पन्न नहुँदासम्मका लागि सीमा नाका बन्द गरिन लागेको हो ।

भारतीय पक्षले पञ्चायतस्तरको चुनावी सुरक्षाका लागि नाका बन्द गर्न पत्राचार गरेको छ । केही दिन पहिला भारतको पिथौरागढमा सम्पन्न भएको सीमा सुरक्षा समन्वय बैठकमा पनि चुनावको समयमा नाका बन्द गर्ने सहमति भएकाले सोहीअनुसार नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले सूचनामार्फत जानकारी गराएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सीमा भारतसँग जोडिएका छन् ।

दशरथचन्द नपाको झुलाघाट नाकामा पुलबाट आवतजावत गर्ने गरिन्छ । तल्लो सोराड क्षेत्रको (पञ्चेश्वर, शिवनाथ गाउँपालिका) ९ वटा ठाउँबाट डुंगामा महाकाली नदी तरेर नेपाल–भारत आवतजावत गरिन्छ ।