धनगढी पोष्ट
बिहिबार, १५ साउन २०८२ मा प्रकाशित
काठमाडौं । उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले महिमानसिंह विष्टसँग १ लाख रूपैयाँ धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेश बिहीबार सदर गरेको हो ।
विष्टले जिल्लाको धरौटी नमिलेको दाबी गर्दै त्यसलाई बदर गरी तारेखमा रहन पाऊँ भनी माग गर्दै उच्चमा निवेदन दिएका थिए ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि पक्राउ परेका उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो ।
विष्टले गत वैशाख १७ गते चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेका थिए । उक्त अनधिकृत पत्रका कारण चौधरी ५ घण्टा कारागारभित्र बस्नुपरेको थियो ।
पछि सर्वोच्चले पत्र सच्याएर पठाएपछि चौधरी कारागारमुक्त भएका थिए । त्यसपछि तत्कालै प्रहरीले विष्टलाई पक्राउ गरी लिखत किर्ते कसुरमा अनुसन्धान शुरू गरेको थियो ।
लिखत किर्तेमा प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । लिखत किर्तेको मुद्दा जिल्ला अदालत काठमाडौंमा हालसम्म विचाराधीन छ ।
जिल्लाले धरौटीमा छाडेपछि नाउपाका संरक्षक चौधरीले पनि गत जेठ १९ गते विष्टलाई थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए ।
