धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

डिभिजन बन अधिकृत पूर्णशंकर यादव विरुद्ध भ्रष्ट्राचार मुद्धा

डिभिजन बन अधिकृत पूर्णशंकर यादव विरुद्ध भ्रष्ट्राचार मुद्धा

धनगढीः कैलालीको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवलाई ७ लाख ३१ हजार घुस रकमसहित पक्राउ गरिएको थियो । ‘चुरे गाउँपालिका– ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो, प्रवक्ता पौडेलले भनेका छन् ।

अनुसन्धानबाट घुस लिएको स्थापित भएकोले निज यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा ७ लाख ३१ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले बताए ।