धनगढी पोष्ट बिहिबार, ०२ असोज २०८२   September 18, 2025

शुक्लाफाँटा नगरपालिकाको सेवा अनिश्चित

शुक्लाफाँटा नगरपालिकाको सेवा अनिश्चित

धनगढी । जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि शुक्लाफाँटा नगरपालिकामा कार्यसञ्चालन हुन सकेको छैन । प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै १२ वटै वडा कार्यालयमा तोडफोड गरी सामग्रीमा आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो ।

तोडफोड गरिएका, आगजनी गरी जलाइएका संरचना तथा सामग्रीको क्षतिको मुचुल्का तयार गर्न, मूल्यांकन संगै सरसफाइ गर्न समय लाग्ने भएकाले कार्यालय सञ्चालन हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए । उनका अनुसार प्रदर्शनकारीले वडा नं १, ४ र ७ भवनमा आगो लगाएर नोक्सानी गरेका छन् भने कार्यालयभित्रका महत्त्वपूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, पंखा, एसी, प्रिन्टरलगायत सामग्री जलाएका छन् ।

सेवाग्राहीले बुझाएको राजश्वबापतको रकम, ल्यापटपसहित हात्ती प्रभावित क्षेत्रमा वितरणका लागि राखिएका टर्चलगायत सामग्री लुटेर लगेका वडाका कर्मचारीले जनाएका छन् । नगरपालिकामा हालसम्म वडा नं १० ले वैकल्पिक व्यवस्थासहित स्वास्थ्य कार्यालयको बरण्डाबाट आंशिक रूपमा सेवा दिन सुरु गरेको छ । नगरको नियमित कार्यसञ्चालनमा ल्याउनका लागि एकसाता लाग्ने अधिकृत विष्टले बताए ।