धनगढी पोष्ट
शुक्रबार, ०७ कार्तिक २०८२ मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगमा १५ नया दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको आयोगले जनाएको छ ।
निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गत असोज ७ गते दल दर्ताको लागि निवेदन दिएको थियो । साथै गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टीले ‘सिक्का’ चिन्ह सहित यही कात्तिक २ गते दर्ताको निवेदन दिएको थियो ।
अधिवक्ता डा सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टीले गत असोज ९ गते आयोगमा दर्ताका लागि निवेदन दिएको थियो । गत असोज ३० गते दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीले ‘ज्योति’ चुनाव चिन्हको माग सहित दर्ताका लागि निवेदन दिएको छ ।
यस्तै दल दर्ताका लागि हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले यही कात्तिक २ गते आयोगमा निवेदन दिएको छ । यो दलले ‘क्रस खुकरी’ निर्वाचन चिन्ह मागेको छ ।
यसैगरी आयोगमा निर्वाचन घोषणा पुर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति नदिइएको प्रवक्ता भट्टराईले बताए । त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टी लगायत छन् ।
आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ । आयोगमा यसअघि १२२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई १२४ दल पुगेका छन् ।