धनगढी पोष्ट
आइतबार, १६ कार्तिक २०८२ मा प्रकाशित
कैलाली र कन्चनपुर जिल्लाबाट प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको टीकापुर नगरपालिबाबाट दुई युवक र कन्चनपुरको भीमदत्त नगरपालिकाबाट एक युवतीलाई लागु औषध सहित शनिबार पक्राउ गरेको हो ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार टिकापुर नगरपालिका ९ खक्रौला भन्सार चेकपोष्ट स्थित बा ७५ प ८९२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेड लाइटको कबर भित्र लुकाई छिपाई राखेको अवस्थामा ४ ग्राम ९७० मिलिग्राम लागु औषध खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोटसाइकल चालक जानकी गाउपालिका ९ अमरावतीका २२ बर्षी टेक बहादुर साउँद र मोटरसाइकल पछाडी सवार सोही ठाउँका २५ बर्षीय रमेश टमटा रहेका छन् ।
त्यस्तै कन्चनपुरको भीमदत्त नगरपालिका ९ झिलमिलाबाट २२० मिलिग्राम लागुऔषध (खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ) फेला पारी एक युवतीलाई पक्राउ गरिएको छ । शंका लागि चेकजाँच गर्दा लागु औषध सहित कैलालीको गौरीगंगा नगरपालिका १ चौमालाकी ३६ बर्षीय लक्ष्मी देबि बिष्टलाई पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।