धनगढी पोष्ट
बिहिबार, २७ कार्तिक २०८२ मा प्रकाशित
बैतडी । विभिन्न माग राखेर जेनजी समुहले बैतडीको सुर्नया गाउँपालिकामा लगाएको ताला एक महिना सम्म पनि खुलेको छैन । जेनजी समुहले असोज २४ गते शुसुशासन कायम हुनुपर्ने, भ्रष्टचार अन्त्य गरिनुपर्ने, दरबन्दी विहिन कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने, बेरुजु असुल गर्नुपर्ने, स्थानीय युवा परिषद गठन गर्नुपर्ने, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई गर्नुपर्ने, मदिरा बिक्री वितरण नियमन गर्नुपर्ने, जेनजी शहीद परिवारलाई सहयोग गर्नुपर्ने, पालिकास्तरीय खेलमैदान निर्माण गर्नुपर्ने लगायतका माग राखेरसुर्नया गाउँपालिकामा तालावन्दी गरेको थियो ।
पालिकालाई आम नागरिकको पहुँचमा पुरयाउनु पर्ने आफूहरुको माग रहेको जनेजी अगुवा विशाल भट्टले बताए । माग पुरा गर्न पालिका अध्यक्ष सहितको टोली अझै तयार नभएको उनको भनाई छ ।
भट्टले ‘कार्यपालिका एकमत भएर माग सम्बोधन गरे ताला खोल्न हामीहरु तयार छौं ।’
सुर्नया–२ सतबाँझमा बिहीबार पत्रकार सम्मेलन गर्र्दै जेनजी समूहका अगुवा भट्टले आफूहरुले ११ बुँदे माग अघि सारेको र ती माग सम्बोधन गर्ने ग्यारेन्टी भए तालाबन्दी तत्काल खोल्न सकिने बताए । ‘पटक–पटक छलफल हुँदा पनि पालिकाले हाम्रा माग सुनुवाई गर्न चासो देखाएको छैन, भट्टले भने, ‘पालिका अध्यक्ष र कार्यपालिका सदस्यकै कारण तालावन्दि लम्बिएको हो, माग पुरा हुने वातावरण बने एक मिनेटमै ताला खुल्छ ।’
गाउँकार्यपालिका एकमत नभएकै कारण लामो समयदेखि गाउँपालिकामा तालाबन्दी जारी रहेको र यसका लागि सुर्नया सरकार जिम्मेवार रहेको उनले बताए । तत्काल सम्बोधन गर्न सकिने मागहरु सम्बोधन गर्ने र अरु मागहरु पूरा गर्ने ग्यारेन्टी गाउँपालिकाकातर्फबाट हुनुपर्ने उनले बताए ।
गाउँपालिकामा गरिएको तालाबन्दीको खोल्ने बिषयमा चार पटक वार्ता भएपनि कार्यपालिका एकमत भएर नआउँदा समस्या भएको जेनवाइ समूहका अगुवा देवबहादुर चन्दले बताए । उनले भने, ‘हामी चार पटक वार्तामा बस्यौं, कुनै पनि वार्तामा कार्यपालिका एकमत भएको देखिएन्, गाउँपालिका सरकारकै कारण तालाबन्दी लम्बिएको छ ।’
गाउँपालिमा सुशासन कायम गर्न, भ्रष्टचार अन्त्य गर्न र आम नागरिकको पहुँच पुर्याउन आफूहरुको संघर्ष रहेकाले भ्रममा नपर्न जनेजी अगुवा चन्दले आग्रह गरे ।
अहिले सम्मका वार्तामा स्थानीय सरकार जिम्मेवार भएर प्रस्तुत नहुँदा समस्या भएको जेनजी समूहका हरिश कुँवरले बताए । आफूहरु समस्याको शान्तिपूर्ण निकासको पक्षमा रहेको बताउँदै उनले सरकारले जिम्मेवार भएर आउनुपर्नेमा उनले जोड दिए । करार कर्मचारी हटाउने बिषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भट्टले आफूहरुले व्यक्तिगत रुपमा कसैलाई हटाउन नभनेको प्रष्ट्याए ।
तर संघीय परिपत्र र प्रचलित ऐन कानुन विपरीत कर्मचारी राखेको भए पालिका आँफैले हटाउनुपर्ने उनले बताए । गाउँपालिकाले आफूहरुले माग गरेका सूचना उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेको समूहले ११ बुँदे माग अघि सारेको छ । गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा सेवाग्राही भने मारमा परेका छन् । गाउँपालिकामा तालाबन्दी हुँदा पालिकाले प्रदान गर्ने सबै सेवा ठप्प भएका छन् । गाउँपालिकाले जेनजी युवा समूहले उठाएका अधिकांश माग सम्बोधन गर्ने भन्दै सहमतिको ड्राफ्ट बनाएको भएपनि कार्यपालिकामै विवाद हुँदा समस्या भएको बताइएको छ ।