धनगढी पोष्ट
आइतबार, ३० कार्तिक २०८२ मा प्रकाशित
धनगढी । सामान्य प्रशासन मन्त्रालयको पत्र आएपछि अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ ।
पत्र आएको लगत्तै बसेको कार्यपालिका बैठकले करार अवधि सकिएका ती कर्मचारीको पुनः करार थप नगरेर बिदा दिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार करारका कर्मचारीको करार थप नगरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत संगीता ताम्राकारले जारी गरेको सूचनामा उल्लेख छ ।
करार नथपिने कर्मचारीहरूमा स्वीपर ८ जना, अनमी ६ जना, ल्याब ४, स्टाफ नर्स १, रेडियो ग्राफर १, मेडिकल अधिकृत १, आधारभूत अस्पताल कास ३ र आँखा उपचार केन्द्रका ३ जना रहेका छन् ।
यसैगरी गाउँपालिकाका वडा सहायक ८ जना, रोजगार शाखा २ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना र कार्यालय सहयोगी ५ जना रहेका छन् ।