धनगढी पोष्ट
बुधबार, १० मङि्सर २०८२ मा प्रकाशित
धनगढी । संविधान सश्शोधन वा पुनःलेखन गरि राष्ट्रिय समस्याको समाधान गरि मुलुकलाई निकान दिनु पर्ने सहितका माग राखेर जनता समाजवाली पार्टी कैलालीले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जसपा कैलालीका अध्यक्ष गया प्रसाद कुश्मी नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा राष्ट्रिय जातीय पहिचान झल्किने गरि राज्य पुन संरचना गरिनु पर्ने, प्रदेशहरुलाई स्वायत्त अधिकार सम्पन्न बनाइनु पर्ने, प्रदेशलाई प्रदेशमा स्वशासन र संघमा साझेदारी प्रणालीको व्यवस्था गरिनु पर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गरिनु पर्ने, भौगोलिक रुपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने, दलित र महिलाहरुका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभुति गराउन छुट्टै आरक्षित संसदिय र प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्न माग गरिएको छ ।
पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरिनु पर्ने, जेनजीले आन्दोलनका क्रममा उठाएका न्यायोसचत माग र मुद्धालाई सरकारले सम्वोधन गर्नु पर्ने जेनजी आन्दोलन दवाउन गरिएका दमनका कारण भएका क्षति, हिंसा, हत्या आगजनीको छानबीन गरि दोषीलाई कारवाही गरिनु पर्ने माग समेत ज्ञापन पत्रमा गरिएको छ ।
जनता समाजवादी पार्टीले केही दिन अघि पार्टीलाई निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता गर्ने र सबै जिल्लामा प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेका थियो ।