धनगढी पोष्ट
आइतबार, १८ माघ २०८२ मा प्रकाशित
धनगढी । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदुरपश्चिमका तीन जिल्लाका चार स्थानमा सँचालन गरेको निःशुल्क आँखा शिविरमा २ हजार १ शय ३२ जनाले आखा उपचारको सेवा लिएका छन् । सेभा नेपाल र रुईत फाउण्डेशनको सहयोगमामा १३ दिन सँचालन गरिएका ती शिविरहरुमा ३ शय २० जनाको मोतीविन्दूको शल्यक्रिया गरिएको गेटा आखा अस्पतालले जनाएको छ ।
माघ ४ दखि १६ गतेसम्म डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको मेलौली र श्रीकोट तथा दार्चुला जिल्लाको खलंगामा सँचालन गरिएका शिविरमा आँखाका बिरामीहरुलाई शिविरमा नै निःशुल्क औषधि उपचार गरिएको गेटा आखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए ।
भट्टका अनुसार चश्माको आवस्यकता भएका सेवाग्राहीहरुलाई शिविरमा नै चश्माको लागि आँखा परिक्षण गरि ५ शय ६५ जनालाई निःशुल्क र ५ शय ८ जनालाई विशेष छूटमा गरि जम्मा १ हजार ७३ जनालाई चश्मा उपलब्ध गराईएको छ ।
शिविर संचालनमा परशुराम नगरपालिका, मेलौली नगरपालिका, महाकाली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले स्थानीय आयोजकको रुपमा महत्वपूण योगदान पर्याएका थिए ।
आँखा शिविर दार्चुलाको खलंगा र बैतडीको श्रीकोटमा गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवम बरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेश राज पन्तको नेतृत्वमा र डडेल्धुराको जोगबुढा र बैतडीको मेलौलीमा संचालित शिविरहरु बरिष्ठ नेत्र विशेषज्ञ डा स्मध अधिकारीको नेतृत्वमा १४ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।
आँखा शिविरहरुमा स्थानीय पालिकाका पदाधिकारीहरु, प्राथमिक स्वास्थ्य केन्दका स्वास्थ्य कर्मीहरु, विद्यार्थीहरु र नेपाल नेत्रज्योति संघ बैतडी र दार्चुलाका पदाधिकारीहरुले शिविर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
सुदुरपश्चिममा आँखा उपचार सेवामा सबैको पहूँच बढाई अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २९ वटा शाखाहका नियमित उपचार सेवाको अतिरिक्त वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै आइरहेको छ ।