धनगढी पोष्ट शुक्रबार, २३ माघ २०८२   February 6, 2026
प्रनितिधि सभा निर्वाचन २०८२

कैलाली–५का उम्मेदवार आलेको घोषणा पत्र : फाप्ला क्रिकेट मैदान, गेटा विमानस्थल र दशरथचन्द मेडिकल विश्वविद्यायल बनाउने प्रतिवद्धता

कैलाली–५का उम्मेदवार आलेको घोषणा पत्र :  फाप्ला क्रिकेट मैदान, गेटा विमानस्थल र दशरथचन्द मेडिकल विश्वविद्यायल बनाउने  प्रतिवद्धता

धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कैलाली क्षेत्र नम्बर–५ मा उम्मेदवारी दिएका प्रेमबहादुर आलेले आफ्नो चुनावि घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीबार आलेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा आलेले धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण, गेटा विमान स्थललाई अन्तराष्ट्रिय विमान स्थलका रुपमा विकसित गर्ने र शहिद दशरथ चन्द मेडिकल विश्व विद्यालय सञ्चालन गरी मेडिकल शिक्षा अध्यापनको व्यवस्था गर्ने एजेण्डालाई प्राथमिकतामा राखेका छन् ।

त्यसतै धनगढी स्थित सेती प्रादेशिक अस्पतालबाट विशिष्टिकृत सेवाहरू प्रदान गर्न संघिय सरकार मातहत संचालन गर्न व्यवस्था मिलाइनेछ । सिकलसेलका विरामीहरूको निम्ती छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धानलाई सहज र व्यवस्थित बनाइनेछ घोषणा पत्रमा उल्लेख छ ।

आलेले धनगढी–खुटीया–दिपायल बझाङ चैनपुर हुदै उरै भञ्ज्याङ सम्मको भारत–नेपाल–चीन जोड्ने त्रिदेशिय सडकलाई छिटो भन्दा छिटो सम्पन्न गराई यस क्षेत्रमा आर्थिक तथा धार्मिक गतिविधि बढाईने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी मोहना, खुटीया, घुरही, घुराहा र शिवगंगा नदी किनारका खेती योग्य जमिन तथा बस्तीहरूलाई सुरक्षित बनाउन ग्रिनरी सहितको दिर्घकालिन तटबन्धन निर्माण गरी धनगढी क्षेत्रको डुवान समस्याको समाधान गर्ने घोषणा पत्रमा उल्लेख छ ।

आलेले लागूऔषध दुव्व्र्यसनको कुलतमा फसेका बालबालिकालाई पुर्नस्थापना, सचेतना र रोजगारका कार्यक्रमसंग जोड्ने, ग्रामिण सडकहरूको स्तरोन्नती गर्ने, भादा घुरही नदीमा पक्की पुल, गदरिया सिमराना जोड्ने घुराहा नदीमा पक्की पुल, शिवगंगा डुमलिया जोड्ने पक्की पुल लगायत नदीहरूमा पुल निर्माणको एजेण्डा आफ्नो घोषणा पत्रमा समावेस गरेका छन् ।

विदेश तथा स्वदेशमा काम गर्न जाने युवाहरूलाई लक्षित गरेर प्राविधिक शिक्षा, सिप सिकाई र रोजगारमुखी तालिम दिएर युवालाई सक्षम बनाउन प्रदेश स्तरीय सिप तालिम केन्द्रको स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी धनगढी वडा नम्बर–७ मा रहेको वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने, भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र लालपुर्जा प्राप्त नगरेकालाई लालपुर्जा दिने, सुरक्षित आवास कार्यक्रम लागु गर्ने र अव्यवस्थित बसोबासीलाई विद्युत, खानेपानी, ढल र सडक पहुँचको सुनिश्चितता गर्ने योजना घोषणा पत्रमा उल्लेख गरिएको छ ।

कृषि तर्फ किसानलाई कृषि उत्पादनमा आधुनिक प्रविधिसंग जोड्ने, सिचाईको व्यवस्थापन गर्ने र मल वीउ विजनको सहज उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी महिला सशक्तिकरण गर्न महिलालाई राजनिती, प्रशासन, व्यवसाय र सामाजिक नेतृत्वमा अगाडी ल्याउन उद्यमशीलता, सुरक्षा र सम्मानजनक जीवनको सुनिश्चितता गर्ने । राज्यबाट पछाडी पारिएको दलित समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समान अधिकार, अवसर र सम्मानको सुनिश्चितता गर्ने, थारू समुदाय लगायत अन्य स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न साँस्कृतिक संग्राहलय निर्माणमा पहल गरिनेछ प्रतिबद्धता घोषणा जनाइएको छ ।

उद्योग, व्यापार र रोजगारीका लागि साना तथा मध्यम वर्गको उद्योगको प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई बजारको सुनिश्चितता गरिने, सामाजिक सेवा र मानव कल्याणका लागि वृद्धाश्रम, अनाथालय र अपाङ्गता सेवा केन्द्रहरूलाई राज्यबाट आर्थिक तथा अनुदान सहायता गराई जिम्मेबार बनाउने कामको लागि पहल गरिने तथा सरकारी तथा सामुदायिक शैक्षिक संस्थाका विद्यार्थीहरूको गुणस्तरमा सुधार गर्न पुर्वधार निर्माण, डिजिटल शिक्षा र प्रविधिक शिक्षाको लागि राज्यको लगानी र सहायताको सुनिश्चितता गर्ने आलेको घोषणा पत्रमा उल्लेख छ ।