धनगढी पोष्ट बुधबार, २८ माघ २०८२   February 11, 2026
तीन पार्टीको एकिकरण अघि तत्कालिन नेकपा माओबादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेता समेत रहेका भट्टलाई पार्टी एकता पछि पनि दलको नेता चयन गरेको हो ।

नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट चयन

नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट चयन

धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट भयन भएका छन् । तीन पार्टीको एकिकरण अघि तत्कालिन नेकपा माओबादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेता समेत रहेका भट्टलाई पार्टी एकता पछि पनि दलको नेता चयन गरेको हो । तत्कालिन नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकिकृत समाजबादी पार्टीविच एकता भएर नेकपा बनेको थियो । तीन वटा दल मिलेपछि सुदूरपश्चिम प्रदेशमा २१ जना प्रदेश सभा सदस्य सहित नेकपा सवै भन्दा ठुलो दल बनेको थियो ।

यी तीनै दलका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठकले गरेको निर्णयलाई औपचारिक रूपमा प्रदेशसभा सचिवालयमा जानकारी गराइएको हो । नयाँ गठित नेकपाको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । यसअघि माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गरिरहेका भट्टको नेतृत्वमा १५ जना सांसदहरूको भौतिक उपस्थितिमा यो निर्णय गरिएको हो । नेता भट्टका अनुसार निर्वाचनको व्यस्तताले उपस्थित हुन नसकेका अन्य सदस्यहरूले पनि पार्टी एकता र नेतृत्व चयनमा आफ्नो सहमति जनाइसकेका छन् ।

दलको आन्तरिक संरचनालाई व्यवस्थित गर्न बैठकले विधान मस्यौदा कार्यदल पनि गठन गरेको छ । पाँच सदस्यीय उक्त कार्यदलमा रमेशसिंह धामी, ओमविक्रम भाट सरल’ खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी समेटिएका छन् । यो एकीकरणसँगै २१ सांसदसहित नेकपा सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो शक्ति बनेको छ । जसमा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ३ जना सदस्य समावेश छन् ।

यसअघि पहिलो स्थानमा रहेको नेपाली कांग्रेस अब १८ सांसदसहित दोस्रो स्थानमा झरेको छ । त्यस्तै, एमालेका ११ र राप्रपाका १ सांसद रहेका छन् भने स्वतन्त्र सांसद तारा जोशीले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा दिइसकेका छन् ।