धनगढी पोष्ट
बुधबार, २८ माघ २०८२ मा प्रकाशित
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेश सरकारसंग १२ बुदे जवाफ माग गरेको छ । प्रदेश सरकारको प्रभावकारीता माथिनै प्रश्न उठाएको नेकपाले विभिन्न बुद्धामा जवाफ माग गरेको हो । तत्कालिन माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतका पार्टी मिलेर बनेको नेकपाको प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै १२ बुँदामा विभिन्न आरोप लगाउदै सरकारको जवाफ माग गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाह र सरकारको कार्य प्रभावकारितामाथि प्रश्न उठाउदै संसदीय दलका नेता खगराज भट्टले काँग्रेस र एमालेको गठबन्धन सरकार असफल भएको बताउदै माग पूरा गर्नुपर्ने बताए । उनले एक हप्ता भित्र सरकारलाई जवाफ दिन पनि अल्टिमेटम दिए ।
‘सरकार भ्रष्टाचार, ढिलासुस्ती, भागबण्डा र बेथितिमा डुबेको छ,’ भट्टले भने, ‘अस्थिरता, निष्क्रियता र दिशाहीनतामा फसेको छ, जनताले निकास चाहेका छन्, यो सरकारले निकासका लागि मार्ग प्रसस्त गर्नु पर्दछ ।’
प्रदेशमा भ्रष्टाचार र कमिसनतन्त्र खुलेआम मौलाएको, योजना बाँडफाँटदेखि नियुक्तिसम्म आसेपासेलाई फाइदा पु¥याउने प्रवृत्ति बढेको नेकपाको आरोप छ ।
एक साताभित्र सरकारका तर्फबाट चित्तबुझ्दो लिखित जवाफ नआए मुख्यमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने नेकपाको माग छ ।