धनगढी । संघिय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद् सचिवालयले शपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।
सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भिक चरणका बैठकहरू बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगायतको व्यवस्थापन भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा निकै जटिलताहरू देखा पर्ने भएकाले छिटो भन्दा छिटो संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बताए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यहीँ चैत्र १२ गते बहुउद्देश्यीय हलमा नै हुने संसद् सचिवालयले जनाएको छ ।
संघिय संसदवालयका अनुसार सुदूरपश्चिम प्रदेशका ६ सांसदले मातृ भाषामा सपथ लग्न नाम टिपाएका छन् । डोटेली भाषामा शपथ लिनेहरूमा दीपक बोहरा, आकृति अवस्थी र हरिना कामी रहेका छन् । उनीहरू सबै डडेल्धुराका बासिन्दा हुन् तर बोहरा कञ्चनपुर–२ बाट निर्वाचित भएका थिए । त्यस्तै गीता चौधरीले थारु भाषामा र कृपाराम रानाले रानाथारु भाषामा शपथ लिने तयारी गरेका छन् । यी दुवै जना कञ्चनपुरबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन् । यस्तै बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ऐन महरले पनि मातृभाषामै सपथ लग्ने भएका छन् । उनि नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
शपथसम्बन्धी ऐन २०७९ अनुसार सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था रहेको छ । सोही आधारमा सांसदहरूले आफूले रोजेको भाषाको विवरण संसद सचिवालयमा दर्ता गराएका हुन् ।