सुदुरपश्चिममा नेपाली कांग्रेसको सदस्यता अद्यावधिक

जिल्ला सभापतिहरुले नमान्दा अद्यावधिक गराउन  १ महिना ढिलो शुरु

कैलाली र कन्चनपुरमा जिल्ला सभापतिले सदस्यता अद्यावधिक गर्न मानेका छै्रनन् । तर क्षेत्रीय समितिहरुले अद्यावधिकको काम शुरु गरेका छन् ।

जिल्ला सभापतिहरुले नमान्दा अद्यावधिक गराउन  १ महिना ढिलो शुरु

धनगढी । सुदुरपश्चिमका आठ  जिल्लामा नेपाली कांग्रेसको  सदस्यता अद्यावधिकको कार्य शुरु भएको छ । केन्द्रले प्रतिनिधि पठाएको एक महिना ढिलो बझाङ बाहेकका आठ जिल्लामा सदस्यता अद्यावधिकको काम शुरु भएको हो ।

कैलाली र कन्चनपुर जिल्लामा पार्टीका जिल्ला सभापतिले  पहल नगरेपछि क्षेत्रीय कमिटीहरुले सदस्यता अद्यावधिकको काम शुरु गरेका छन् । अन्य छ जिल्लामा जिल्ला सभापतिहरुकै पहलमा अद्यावधिकको काम भैरहेको हो ।

सुदुरपश्चिमका आठ जिल्लामा सदस्यता अद्यावधिकको काम शुरु भैसकेको छ ।’ कांग्रेसका  केन्द्रिय सदस्य जगत प्रसाद जोशी भन्छन् ‘बाकी रहेको बझाङ जिल्लामा पनि केही दिनमा नै काम शुरु हुन्छ ।’

कैलालीमा जिल्ला सभापति नारायण दत्त भट्टले सदस्यता अद्यावधिक शुरु गर्न मानेका छैनन् । तर क्षेत्र नम्बर ५ र ४ मा क्षेत्रीय कार्यसमितिले सदस्यता अद्यावधिकको काम शुरु गरेका छन् । ‘जिल्ला सभापति ज्युले कैलालीमा सदस्यता अद्यावधिकको पहल नगरे पनि क्षेत्रीय समितिहरुले आफै पहल गरेर अद्यावधिकको शुरु गरिसकेका छन् ।’ सदस्यता अद्यावधिकको लागि कैलाली जिल्लामा खटिएका  केन्द्रिय सदस्य जोशीले भने ‘कैलालीका अरु निर्वाचन क्षेत्रमा पनि काम शुरु हुन छलफल भैरहेको छ ।’

कैलाली जिल्ला सभापति भट्ट अहिले सदस्यता अद्यावधिक नगराउने पक्षमा छन् । सभापति भट्ट काठमाण्डौमा रहेकै बेला कार्यबाहक सभापति खेमराज डगौराले बोलाएको पादधिकारीको बैठक भट्टले रद्ध गरेका थिए ।

कैलाली क्षेत्र नम्बर ५ का कांग्रेस  सभापति भीम पडालले केही दिन अघि सदस्यता अद्यावधिकको लागि पार्टी कार्यालयमा बैठक गर्न  खोज्दा ठाउँ नपाएको बताएका थिए । ‘हामीले सबै वडाका सभापति र केन्द्रिय प्रतिनिधि राखेर छलफल गरेका छौं’ । सभापति पडालले भने ‘वडा सभापतिज्युहरु वडामा छलफल गरेर अद्यावधिकको काम अघि बढाइरहनु भएको छ ।’

कन्चनपुर जिल्लाका पार्टी सभापति पदम बोगटीले जिल्लामा सदस्यता अद्यावधिकको पहल नगरेपछि १ नम्बर क्षेत्रीय समितिले आफै सदस्यता अद्यावधिकको काम शुरु गरेको छ ।  ‘एक महिनासम्म छलफलमा बस्यौ, तर पनि कन्चनपुरमा जिल्ला सभापतिज्युले सदस्यता अद्यावधिकको  काम नै शुरु गर्न मान्नु भएन ।’ कन्चनपुरमा खटिएका कांग्रेसका केन्द्रिय सदस्य  नरेन्द्र भट्ट भन्छन्  ‘तर क्षेत्र नम्बर १ मा  क्षेत्रीय समितिको पहलमा सदस्यता अद्यावधिकको काम शुरु भएको छ ।’ क्षेत्र नम्बर १ का सभापति गोपी उपाध्यायको पहलमा  छलफल भएर सदस्यता अद्यावधिकको काम वडा स्तरमा भैरहेको छ । कन्चनपुरका अरु क्षेत्रमा अद्यावधिकको  काम शुरु गर्न पहल भैरहेको भट्ट  बताउँछन् ।

केन्द्रिय सदस्य जोशीका अनुसार डोटी जिल्लामा कार्यवाहक सभापतिको अध्यक्षतामा बैठक बसेर अद्यावधिकको काम पालिकाहरुमा शुरु भएको छ । पुर्व प्रधानमन्त्री एवम पार्टी सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि अद्यावधिकको काम भैरहेको छ । अछाम, बाजुरा, बैतडी, दार्चुलामा पनि आद्यावधिकको काम जिल्ला सभपातिहरुको पहलमा नै भैरहेको जोशी बताउँछन् ।

बझाङ जिल्लामा केन्द्रिय प्रतिनिधि नपुगेर शुरु हुन सकेको छैन । केन्द्रले प्रतिनिधि खटाएका केही दिनमा नै पुगेपछि बझाङमा पनि अद्यावधिकको काम शुरु हुने जोशी बताउँछन् ।

गत पुसमा नेपाली कांग्रेसको बिशेष महाधिवेशनबाट  गगन थापाको सभापतित्वमा नयाँ बनेको कार्यसमितिले  पार्टीको सदस्यता अद्यावधिकको काम शुरु गरेको छ । पार्टीका सदस्यहरुको विवरण डिजिटलाइजेशन गर्न अद्यावधिकको काम शुरु गरिएको कांंग्रेसले जनाएको छ ।

पुर्व पार्टी सभापति शेर बहादुर देउवा पक्ष भने सदस्यता अद्यावधिकको पक्षमा छैन । उक्त पक्षका काठमाण्डौमा उपलव्ध सुदुरपश्चिमका नेताहरुको  बैठकले सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।  देउवा पक्षको सदस्यता अद्यावधिक नगर्ने निर्णयका कारण नै सुदुरपश्चिममा अद्यावधिकको काममा ढिलाइ भएको हो  । सुदुरपश्चिमका बाजुरा, बैतडी र दार्चुला जिल्लाका बाहेकका सभापतिहरु देउवा पक्षका  छन् ।