धनगढी पोष्ट
शनिबार, ३१ साउन २०८३ मा प्रकाशित
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ ताम्सु गाउँ नै बाढीपहिरोको उच्च जोखिममा परेको छ ।
ताम्सु गाउँका ५८ परिवार पहिरोको उच्च जोखिममा रहेको र दुई घर पूर्ण रूपमा क्षति भएको वडा अध्यक्ष नन्द थापाले बताए । बिहीबार राति आएको बाढीपहिरोमा परी ताम्सु गाउँमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । पहिरोमा दुई घर पूर्ण रूपमा क्षति भएका छन् । गाउँको बीच भागमा पहिरो जानुका साथै ठाउँ–ठाउँमा जमिन चिराचिरा परेपछि गाउँमा रहेका ५८ परिवार उच्च जोखिममा रहेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।
ताम्सु गाउँमा ६० परिवार बसोबास गर्दै आएका थिए । पहिरोले दुई घर बगाएपछि बाँकी ५८ घर पनि निकै जोखिममा रहेको वडा अध्यक्ष थापाले बताए । विस्थापित परिवारमध्ये केही सहकारीको भवनमा, केही महालक्ष्मी आधारभूत विद्यालयमा बसेका छन् भने केही परिवार पाल टाँगेर बस्न बाध्य भएका छन् । बिहीबार राति आएको पहिरोमा परी कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको मृत्यु भएको थियो ।
४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका थिए । धर्मको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । बाढीपहिरोले ताम्सु गाउँमा करिब ६० रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पु¥याएको छ । लगाएको अन्नबाली पूर्ण रूपमा नष्ट भएको छ । विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको छ भने खानेपानीका पाइपमा समेत क्षति पुगेको छ । खानेपानीको व्यवस्था अवरुद्ध भएपछि स्थानीयवासी खोलाको पानी पिउन बाध्य भएका छन् ।
बाजुरामा लगातारको वर्षाका कारण सडक तथा बाटोसमेत भत्किएका छन् । जिल्लाका धेरै परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । यसअघि साउन ४ गते आएको बाढीले बडिमालिका नगरपालिका–६ कोर्धका १६ परिवार विस्थापित भएका थिए । त्यस्तै, सोही पालिकाको वडा नम्बर ८ सेलाघाटमा बाढी आउँदा एक जना घाइते भएका थिए भने तीन परिवार पूर्ण रूपमा विस्थापित भएका थिए । बाढीले खेतबारीमा लगाएको अन्नबाली बगाएर बगरमा परिणत गरेको थियो ।
बाजुराका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका एक सयभन्दा बढी गाउँ उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भिरालो भू–भाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण समग्र जिल्ला नै विपद्को उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौवटै स्थानीय तह उच्च जोखिममा रहेका छन् । नौवटै स्थानीय तहका करिब १५० बस्ती बाढीपहिरोजस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेको उक्त योजनामा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लाका यी बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा छन् ।