धनगढी पोष्ट
आइतबार, ०१ भदौ २०८३ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बैतडीमा बिरामी परेका छन् ।
शनिबार दार्चुला पुगेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो । भाइरलको संक्रमण देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहेका छन् । लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि बिहान जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले उनको स्वास्थ्य चेकजाँच गरेका थिए ।
डा.उपाध्यायले मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको सामान्य समस्या देखिएको जानकारी दिए । उनकाअनुसार मन्त्री लम्साललाई केही समय आराम गर्न सुझाव दिइएको छ । ‘दौडधुप र मौसम परिवर्तनको कारणले पनि हुनसक्छ मन्त्रीज्युलाई समान्य भाइरल ज्वरो र रुघाखोकी देखिएको छ,’ डा.उपाध्यायले भने, ‘आत्तिनुपर्ने अवस्था होइन । दौडधुप र अनिन्द्राका कारण पनि हुनसक्छ । आराम गर्न सुझाव दिएका छौँ ।’
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहितका कर्मचारी समेत मन्त्रीको भ्रमण टोलीमा सहभागी छन् । मन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि अन्य कार्यक्रम प्रभावित भएका छन् । मन्त्री लम्सालले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठकमा सहभागी भएर बझाङ जाने कार्यक्रम थियो ।
तर आफैँ बिरामी परेपछि कार्यक्रम प्रभावित भएका छन् । विमानमार्फत शुक्रबार धनगढी पुगेका मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी दिपायल द्रुत मार्गको अवलोकन गरेका थिए । त्यहाँबाट आफै गाडी चलाएर दार्चुलातिर लागेका थिए । दार्चुलामा उनले महाकाली करिडोर र जिल्ला अस्पतालको भौतिक संरचनाको अनुगमन निरीक्षण गरेका थिए । मन्त्री लम्साल शनिबार साँझ मात्रै बैतडी पुगेका थिए ।