धनगढी पोष्ट
सोमबार, ०२ भदौ २०८३ मा प्रकाशित
धनगढी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र मन्त्री चयनमा समस्या भएपछि सुदुरपश्चिम प्रदेश सरकारले बिश्वासको मत पाइसकेपछि मात्र पुर्णता पाउने भएको छ ।
नेकपामा रहेका तीनै समुहलाई एक एक मन्त्री दिने आन्तरिक सहमति भए पनि मन्त्रीका आकांक्षीको व्यवस्थापनमा समस्या भएपछि सरकारको पुर्णता दिने कार्य पछि धकेलिएको हो । मन्त्री चयनमा असमmदारी बढ्दा सरकारलाई जोखिम बढ्न सक्ने आकलन गर्दै मुख्यमन्त्री खगराज भट्टले बिश्वासको मत लिइसकेपछि मात्र सरकारलाई पुर्णता दिने तयारी गरेका हुन् । मुख्यमन्त्री भट्टले भदौ २ गते बिश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा खगराज भट्टले शपथ लिएकै दिन सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले त्यसै दिन पदभार ग्रहण गरिसकेका छन् । नेपाली कम्युनिष्ट पार्टीले पाउने सहमति रहेका तीन मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् ।
नेकपाको भागमा परेका तीन मध्य साविकको नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीलाई एक एक मन्त्री पद दिने आन्तरिक सहमति भएको छ । तर ती समुहबाट प्रतिनिधित्व गर्ने व्यक्तिको टुंगो लाग्न नसक्दा मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन ।
व्यक्तिसँगै कुन समुहले कुन मन्त्रालय लिने भन्ने बिषय पनि सहमति हुन सकेको छैन । सबै समुहले भौतिक पुर्वाधार बिकास मन्त्रालय खोजेपछि मन्त्री छनौट झन पेचिलो बनेको छ । प्रदेशमा मन्त्रीका आकांक्षी बढी भएपछि र समुहहरुको व्यवस्थापन गर्नु पर्ने भएपछि केन्द्रले नै आप्mनो भागमा रहेका मन्त्रीहरुको टुंगो तत्काल नलगाएको नेकपा श्रोतको भनाईए छ ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम कैलाली जिल्ला सह–इन्चार्ज लक्षीराम आचार्य पार्टीको केन्द्रले नै अहिले रोक्न भनेकोले मन्त्रीको टुंगो तत्काल लाग्न नसकेको बताउँछन् । ‘माथिबाट नै मन्त्री चयनको काम अहिले रोक्नुस् भनेको छ,’ केन्द्रिय सदस्य आचार्य भन्छन्, ‘त्यसो भए पहिले बिश्वासको मत लिनुस्, अनि मन्त्री टुंग्याउनु होला भन्ने सुझाव मुख्यमन्त्रीलाई दिएका छौं ।’
नेपाल कम्युनिष्ट पार्टी (साविकको नेकपा माओवादी ) बाट मान बहादुर धामी, शिवसिंह ओली र ओमबिक्रम भाट, साविकको नागरिक उन्मुक्तिबाट कैलाश चौधरी र खुशीराम चौधरी मन्त्री बन्ने दौडमा छन् ।
त्यस्तै साविकको नेकपा एसबाट प्रकाश रावल र नरेश शाही मन्त्री बन्ने दौडमा छन् । रावल र शाही दुवै जनाले यसअघि आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हाली सकेका थिए । तर अहिले सो मन्त्रालय भने एमालेको भागमा परेको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट दुई जना राज्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । जानकी कुँवर (साविकको नेकपा माओवादी केन्द्र) र इन्दिरा गिरी (साविकको नागरिक उन्मुक्ति पार्टी) बाट राज्यमन्त्री बन्ने लगभग टुंगो लागेका छ । नेपाली कम्युनिष्ट पार्टीबाट राज्यमन्त्री बन्ने निश्चित भएका कुवर, गिरी तथा मन्त्रीको दौडमा रहेका शिवसिंह ओली अहिलेसम्म मन्त्री बनेका छैनन् । सो पार्टीका अरु सबै प्रदेश सभा सदस्यले यस अघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
नेकपा एमालेको समर्थनमा नेकपाका खगराज भट्ट साउन २९ गते सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससँग बजेट निर्माणमा असमझदारी बढेपछि नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्ता भएसंगै नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमल बहादुर शाह अल्पमतमा परेका थिए । अल्पमतमा परेका शाहले साउन २८ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिएका हुन् ।