धनगढी पोष्ट
बिहिबार, ०५ भदौ २०८३ मा प्रकाशित
हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरेका थिए । थापाले तीन दलका ६३ जना सांसदको समर्थनमा बुधबार दाबी पेस गरेका थिए ।
नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र पनि विवाद भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ । पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको थियो ।
राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले बुधवार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो । प्रदेश प्रमुख कार्यालयले भने बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको नियुक्ति र शपथ कार्यक्रम तय गरेको जानकारी गराएको थियो । थापा बागमतीको सातौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।
२०७४ मंसिरदेखि दोस्रो कार्यकालको अन्तिम वर्षसम्म आइपुग्दा बागमती प्रदेश सभाको पहिलो कार्यकालमा एमालेबाट २०७४ मा डोरमणि पौडेल, ०७८ मा अष्टलक्ष्मी शाक्य, एमाले विभाजनपछि बनेको तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट ०७८ मै राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भए । दोस्रो कार्यकालमा ०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल, कांग्रेसबाट ०८१ मा बहादुर सिंह लामा, कांग्रेसबाटै ०८२ मा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री भएका हुन् ।