धनगढी पोष्ट
आइतबार, ०८ भदौ २०८३ मा प्रकाशित
धनगढी । राष्ट्रिय विभूति एवं मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा धनगढीमा राखिएको उनको प्रतिमामा तोडफोड भएको छ । धनगढी उपमहानगरपालिका–७ हुलाकी सडकस्थित जेपी चोकमा राखिएको प्रतिमामा शनिबार राति अज्ञात व्यक्तिले तोडफोड गरेका हुन् । प्रतिमाको आइतबार अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो । तर, अनावरण हुनुअघि नै प्रतिमामा तोडफोड भएपछि घटनाको विरोध भएको छ ।
मानवता, समानता र विश्वबन्धुत्वका क्षेत्रमा जयपृथ्वीबहादुर सिंहले पु¥याएको योगदानको स्मरण गर्दै उनको सम्मानमा बझाङी समाज धनगढीको अगुवाइमा जेपी चोकमा प्रतिमा स्थापना गरिएको थियो । प्रतिमा तोडफोड भएको घटनालाई समाजले गम्भीर रूपमा लिएको छ । बझाङी समाज धनगढीले ऐतिहासिक व्यक्तित्वको सम्मानमा राखिएको प्रतिमामा तोडफोड गर्नु निन्दनीय भएको भन्दै घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न माग गरेको छ । जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीका अवसरमा आज प्रतिमा अनावरण गर्ने कार्यक्रमसमेत तय गरिएको थियो ।