धनगढी पोष्ट बुधबार, ११ भदौ २०८३   August 26, 2026

बैतडीमा अपांगता भएका व्यक्तिले घरमै नागरिकता पाउने

बैतडीमा अपांगता भएका व्यक्तिले घरमै नागरिकता पाउने

बैतडी । बैतडीमा अशक्त तथा अपांगता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो । उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपांगताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।

यसका लागि १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपांगता भएका नागरिकको विवरण संकलन गर्न भनिएको र सम्बन्धित पालिकासँगको समन्वय र सहकार्यमा घरमै नागरिकता प्रदान गरिने उनले जानकारी दिइन् । ‘सबै स्थानीय तहबाट अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण माग गरेका छौँ, प्रमुख जिल्ला अधिकारीले भनिन्, ‘विवरण आएपछि उनीको घर तथा पायक पर्ने स्थानमा पुगेर प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्छौँ ।’

शारीरिक अशक्तता र अपांगता कारण प्रशासन कार्यालयसम्म पुग्न नसकी नागरिकताबाट वञ्चित नागरिकलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको प्रशासनले जनाएको छ । यसबाट विशेष गरी हिँडडुल गर्न कठिनाइ भएका, शारीरिक रूपमा अशक्त तथा प्रशासन कार्यालयसम्म पुग्न असहज हुने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।