धनगढी पोष्ट आइतबार, २२ भदौ २०८३   September 6, 2026
पुनः सञ्चालनमा ल्याए बन्द भएको रोयल जिम

बुवाको सपना जोगाउँदै छोराछोरी

बुवाको सपना जोगाउँदै छोराछोरी

धनगढी । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर धनगढी–१, कैलालीस्थित रोयल जिम पुनः सञ्चालनमा आएको छ । जिमका सञ्चालक कर्णबहादुर कुँवरको निधनपछि उनका छोरा समन कुँवर र छोरी सुनैना कुँवरले बुवाको सपना र योगदानलाई निरन्तरता दिने उद्देश्यले जिमलाई पुनः सञ्चालनमा ल्याएका हुन् ।

भदौ १४ गते शुक्रबार आयोजित एक कार्यक्रमबीच पुर्व सांसद बलबहादुर कुँवरले रोयल जिमको पुनः उद्घाटन गरेका हुन् ।

जिमका सञ्चालक समन कुँवरले आफ्ना बुवाले निकै रुचि र लगावका साथ जिम सञ्चालन गरेको स्मरण गर्दै उहाँप्रतिको माया र सम्मानस्वरूप जिमलाई पुनः सञ्चालनमा ल्याएको बताए ।

उनले भने, ‘बुवाले एकदमै रहर गरेर यो जिम सञ्चालन गर्नुभएको थियो । उहाँलाई जिमप्रति निकै लगाव थियो । त्यसैले उहाँको माया र सम्मानका लागि हामीले फेरि आफ्नै निवासमा रहेको रोयल जिम सञ्चालनमा ल्याएका हौं ।’

उनका अनुसार जिम सञ्चालनको मुख्य उद्देश्य सर्वसाधारणलाई सस्तो दरमा गुणस्तरीय फिटनेस सेवा उपलब्ध गराउनुका साथै स्वस्थ जीवनशैलीप्रति आकर्षित गर्नु हो ।

सञ्चालक सुनैना कुँवरले नयाँ तथा आधुनिक उपकरण समेत थप गरेर सेवा सञ्चालनमा ल्याइएको बताइन् । उनले रोयल जिमका पुराना सदस्यहरूलाई पुनः जिममा आबद्ध हुन आग्रह समेत गरिन् ।

नयाँ र  आधुनिक सामानका साथ जिमलाई आधुनिक शैलीमा सञ्चालनमा ल्याएका छौं । हाम्रा पुराना सदस्यहरूलाई पनि निरन्तर रूपमा जिममा आउन आग्रह गर्दछौ’ उनले भनिन् ।

आधुनिक जीवनशैलीसँगै खानपानमा असन्तुलन र शारीरिक व्यायामप्रतिको बेवास्ताका कारण मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको भन्दै सञ्चालकद्वयले नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरेका छन् । रोयल जिमले सबै उमेर समूहका व्यक्तिलाई लक्षित गर्दै नियमित व्यायाम, फिटनेस तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।