धनगढी पोष्ट
शनिबार, २१ भदौ २०८३ मा प्रकाशित
बाजुरा । बाजुराको बिरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै बिरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने बिरेखोला झरनामा अविरल वर्षापछि माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनिएको र त्यो खोलिएपछि बाढी आएको स्थानीय लालसिंह साउँदले बताए । ‘शुक्रबार राति करिब ८ बजे अविरल वर्षापछि बिरेखोलामा एक्कासी ठूलो बाढी आयो,’ उनले भने, ‘त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास ।’ बाढीले मानवीय क्षति तथा घरमा प्रत्यक्ष क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका छन् । थप १८ परिवारसमेत जोखिममा रहेको साउँदले बताएका छन् ।
भीषण बाढीबाट बिरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले जानकारी दिए । उनकाअनुसार बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र बिरेखोला झरनाको टिकट काउन्टरमा क्षति पु¥याएको छ भने धानबालीसमेत बगाएर खेतलाई बगरमा परिणत गरेको छ । बाढीपछि विस्थापित २३ परिवारलाई सुरक्षित स्थानका रूपमा माथिल्लो डाँडामा सारिएको कार्यबाहक वडाध्यक्ष बडुवालले बताए । यस्तै, नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ । रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपिन बिष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको हो ।
‘रेडक्रसले जिल्लाका नौवटै पालिकामा विपद् न्यूनीकरण र प्रतिकार्यका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ,’ बिष्टले भने, ‘विपद्मा पर्दा सुरुमा सम्झिने भनेको रेडक्रसलाई हो । हामीले विपद् पर्दा तत्काल त्रिपाल दिएर ओत लाग्ने ठाउँको व्यवस्था गर्छौँ ।’ बिरेखोलाका बासिन्दाले अहिले मात्रै होइन, बाढीपहिरोको त्रास विगत पाँच वर्षदेखि नै खेपिरहेका छन् । वि.सं. २०७७ साल साउन २५ गते बुढीगंगा नदीमा आएको बाढीले यहाँको धेरै खेतीयोग्य जमिन बगाएको थियो ।
किसानले पुस्तौँदेखि खेती गर्दै आएको जमिन एकैछिनमा बालुवा र ढुंगाले पुरियो । कसैका लागि त्यो खेत थियो, कसैका लागि परिवार पाल्ने आधार । त्यही जमिन बाढीपछि बगर बन्यो । उत्पादन दिने खेतमा खेती गर्न नसकिने अवस्था आयो । बाढी रोकिएपछि नदी आफ्नो पुरानै बाटोमा फर्कियो । तर बाढीले दिएको घाउ भने स्थानीयको मन र जमिनमा उस्तै रह्यो । अहिलेको बाढीले भने त्यही पुरानो डरलाई फेरि वास्तविकतामा बदलिदिएको छ । २३ परिवार विस्थापित भएपछि बिरेखोलामा बाढीको जोखिम कति गम्भीर छ भन्ने फेरि देखिएको छ । यहाँका स्थानीयका लागि यो केवल एउटा विपत्ति मात्रै होइन, बारम्बार दोहोरिइरहेको संकट हो ।
‘एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ,’ स्थानीय कली साउँदले भनिन्, ‘नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो संकट आएको छ ।’ सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो । यसको आँगनमै बुढीगंगा नदी बगिरहेको छ । सामान्य अवस्थामा नदीको बहाव हेर्दा यहाँका बासिन्दाका लागि यो प्रकृतिको सुन्दर दृश्यजस्तो लाग्छ । वर्षायाम सुरु हुनासाथ जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्ला अछामबाट समेत झरनाको अवलोकन गर्न तथा फोटो–भिडियो खिच्न आउनेको भीड लाग्ने गर्छ । तर वर्षायाम सुरु भएसँगै यही बिरेखोलाको सुन्दरता स्थानीयका लागि त्रासको कारण बन्ने गरेको छ ।
पानी बढ्दै जाँदा नदीको गर्जनसँगै यहाँका बस्तीमा डर पस्छ—कतिबेला घरखेत बगाउने हो भन्ने चिन्ताले । ‘घरआँगनमै बुढीगंगा नदी बग्छ, गाउँकै बीचमा बिरेखोला बगिरहेको छ,” स्थानीय मतिकला खड्काले भनिन्, ‘आँगनबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । हिजोको मात्रै होइन, यसअघि पटकपटकको बाढीले खेतीयोग्य जमिन बगर भइसक्यो । अब कुन दिन घरसँगै हामीलाई बगाउने हो भन्ने डर छ ।’
कृषिमा निर्भर यहाँका परिवारका लागि खेत केवल जमिनको टुक्रा होइन, जीविकोपार्जन गर्ने मुख्य आधार हो । २०७७ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि धेरै परिवारले उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि बिरेखोला झरनाको बाढीले घरबासमा समेत जोखिम निम्त्याएपछि समस्या झन् गम्भीर बनेको स्थानीय कमला साउँदले बताइन् । ‘खेत रहेन, अब घर पनि सुरक्षित छैन,’ उनले भने, ‘कहाँ गएर बस्ने ? अन्त कतै ठाउँ छैन ।’
वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका बिरेखोलाका स्थानीयका लागि अहिलेको बाढीले फेरि एउटै प्रश्न खडा गरेको छ—पहिले खेत गुम्यो, अब घर पनि गुम्ने हो कि ? बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि जीविकोपार्जनको आधार गुमाएका परिवार अहिले घरबासको सुरक्षाका लागि चिन्तित छन् । तत्कालका लागि २३ परिवार सुरक्षित स्थानमा सारिए पनि बिरेखोलाको दीर्घकालीन जोखिम भने यथावत् रहेको बडीमालिका–६ का कार्यबाहक वडाध्यक्ष परे बडुवाल बताउँछन् । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको बारेमा एकिन विवरण संकलन र घटनाबारे बझ्ने कार्य भइरहेको उनले बताए ।