धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८३ मा प्रकाशित
धनगढी । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ । गत शनिबारदेखि परेको अविरल वर्षापछि बडीमालिका नगरपालिका–६, ८ र ९ का विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएपछि मंगलबारदेखि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का र वीरेखोलालगायतका स्थानमा पहिरो खसेको थियो । सडक खुलेसँगै मार्तडीबाट छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । तर, कारागार मोड नजिकै सडकमा ठूलो ढुंगा खसेका कारण बस र ट्रकलगायतका ठूला सवारीसाधन भने अझै चल्न सकेका छैनन् । उक्त स्थानमा मेसिन प्रयोग गरी ढुंगा हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, पहिरोले ३२ वटा विद्युत्का खम्बा ढल्दा शनिबार रातिदेखि अवरुद्ध बाजुराको विद्युत् सेवा पनि आज साँझसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ । मार्तडी क्षेत्रमा ११ केभी विद्युत् लाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । ३३ केभी लाइनका धेरै खम्बा ढलेका कारण उक्त लाइन भने सञ्चालन गर्न थप समय लाग्ने बताइएको छ ।