धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८३ मा प्रकाशित
धनगढी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका कैलालीका सवै सरकारी निकायबाट पूर्णकालीन सेवा सुचारु भइसकको छ ।
आन्दोलनका क्रममा कैलालीमा सरकारी तथा गैरसरकारी गरी १ सय ३७ वटा भवनमा आगजनी र तोडफोड भएको थियो । तीमध्ये १ सय ३ वटा सरकारी कार्यालयका भवन, १७ वटा राजनीतिक दलका पार्टी कार्यालय, १२ वटा सर्वसाधारणका निजी भवन र पाँच वटा प्रहरी कार्यालय रहेका थिए ।
आगजनी तथा तोडफोडबाट गम्भीर क्षति पुगेका ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने ठहर गर्दै रातो स्टिकर टाँसिएको थियो । केही कार्यालयमा संरचनागत क्षति भए पनि वैकल्पिक व्यवस्था तथा मर्मतसम्भारमार्फत सेवा सञ्चालनलाई निरन्तरता दिइएको थियो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार क्षतिग्रस्त सरकारी कार्यालयहरूको मर्मतसम्भार तथा आवश्यक पुनर्निर्माण गरिएपछि अहिले सबै कार्यालयबाट नियमित रूपमा सेवा प्रवाह भइरहेको छ । सरकारी कार्यालयबाट सेवा प्रवाह नियमित भए पनि आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाको पूर्ण पुनर्निर्माण सम्पन्न गर्न भने थप समय लाग्ने देखिएको छ ।