धनगढी पोष्ट शुक्रबार, २७ भदौ २०८३   September 11, 2026

भजनीलाई बाल विवाह मुक्त बनाउन विवाहनै चुनौति

भजनीलाई बाल विवाह मुक्त बनाउन विवाहनै चुनौति

धनगढी । कैलालीको भजनी नगरपालिकालाई बाल विवाह मुक्त पालिका घोषणा गर्न सकस देखिएको छ । पालिका भित्र अहिले पनि बाल विवाह गर्नेक्रम रहेका कारण भजनीलाई चुनौति थपिएको हो ।

खासगरी विद्यालय उम्मेरमै प्रेम विवाह गर्ने र केही समुदायमा सानै उम्मेरमा छोराछोडरीको विवाह गर्ने परम्परा अझै कायम रहेका पालिकाको भनाई छ । जसका कारण बाल विवाह मुक्त पालिका बनाउन समय लागेको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत देवराज अवस्थीले बताए ।

उनका अनुसार बालमैत्री बनाउन पूरा गर्नुपर्ने ५१ वटा सूचक पूरा गर्न बालविवाह चुनौतीका रूपमा देखिएको छ थारू, मुस्लिम समुदायको बसोबास भएको भारतसँग सिमाना जोडिएको यो पालिकामा बालविवाह धेरै हुने गरेको उनी बताउछन् । बालविवाह र सीमावारपार विवाहका कारण विद्यालयमा पढिरहेका ६४ बालबालिकाको जन्मदर्ता हुन नसकेको मुहन्याल मावि भजनीका प्रधानाध्यापक विद्याप्रसाद भट्ट बताउँछन् । जन्मदताृ नभएकै कारण ती बालबालिकालाई पाठ्यपुस्तक, दिवा खाजा सेवा दिन असह भइरहेको प्रधानाध्यापक भट्ट बताउँछन् ।

उनका अनुसार शैक्षिक सत्र २०८२ मा एक सय ४९ जना विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाहिर रहेका छन् । ३ सय ९८ जनाले शैक्षिक सत्रको बिचैमा पढाइ छाडेको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत देवराज अवस्थीले बताए । स्वास्थ्यको तथ्यांक अनुसार पनि एक वर्षमा ८ सय ७ जनाले गर्भ जाँच गराएकोमा एक सय ६ जना र ३ सय १४ जनाले बर्थिङ सेन्टरमा बच्चा जन्माएकोमा ५५ जना २० वर्षमुनिका बालिका रहेका स्वास्थ्य शाखा प्रमुख कैलास डगौरा थारूको भनाइ छ ।

आर्थिक वर्ष २०८२÷८३ मा २१ वटा घरेलु हिंसाका उजुरी दर्ता भएकामा ११ वटा कम उमेरका विवाहित परेको, एक वर्षमा छ महिला र तीन जना १७ वर्षमुनिका बालिकाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदले बताए ।  नगर विकासका लागि बालमैत्री पालिका आवश्यक ठानी नगरपालिकाले सुरु गरेको काममा गैरसरकारी क्षेत्रको सहयोग पनि रहेको तर बालबालिकाका समस्या समाधान गर्न बालबालिका स्वयंदेखि शिक्षक, अभिभावक, सामाजिक अगुवा, जनप्रतिनिधि सबैको योगदान आवश्यक रहेको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । पालिकाले वडा नं. १ बाट बालमैत्री पालिका घोषणा गर्न लागेको छ, यसका लागि विकासका लागि युवा ऐक्यबद्धता संस्थाले प्राविधिक सहयोग गरी वडा बाल पाश्र्वचित्र बनाएर सूचक पूरा गर्ने काममा लागेको रतनलाल चौधरीले बताए ।