धनगढी पोष्ट
शुक्रबार, २७ भदौ २०८३ मा प्रकाशित
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै रासायनिक मल डीएपी बिक्री वितरणमा रोक लगाएको छ । गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दाबी गरेको छ । मन्त्रालयको कृषि विकास महाशाखाअन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले १६ भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । भदौं १५ गते बसेको मन्त्रीपरिषदको बैठकले सडएपी विक्रिवितरणमा रोक लगाएको हो । मन्त्रालयका माटो विज्ञ रजनिश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द भएको उल्लेख छ । सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध आई ‘फोर्स मेजर’को अवस्था सिर्जना भएको मन्त्रालयको दाबी छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले धान बालीलाई अहिले युरिया मल मात्र आवश्यक पर्ने भएकाले डीएपी मल गहुँको लागि जोगाएर राखिएको बताए । अहिले तराई मधेस लगायतका क्षेत्रमा धानको ’टप ड्रेसिङ’ का लागि युरिया मलको माग बढी रहेको र त्यसको आपूर्ति भइरहेको उनको दाबी छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार हाल कम्पनीमा युरिया मल गोदाममा २२ हजार ९ सय १० टन मौज्दात छ भने करिब ३३ हजार टन भारत लगायतका देशबाट आउने बाटोमा छ । डीएपी मल गोदाममा १४ हजार ६ सय ४५ टन मौज्दात छ भने करिब १८ हजार टन आउन बाँकी रहेको उनले बताए । मध्यपूर्वको तनावका कारण मल आपूर्तिमा विश्वव्यापी रूपमै समस्या देखिएको छ ।