धनगढी पोष्ट
बिहिबार, ०४ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा बिहिवार थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको एक हजार दुई सय ११ जनाको स्वाव परिक्षणमा १ सय २९ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ ।
तीन वटै प्रयोगशालामा गरिएको परिक्षण अनुसार कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार ६ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी हुनेमा कैलालीको गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । यसैगरी भीमदत्त नगरपालिका कञ्चनपुरका १४ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यसैगरी डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । अस्पतालमा ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषलले बताए । उनका अनुसार संक्रमण पुष्टी हुनेमा अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५–१५ रहेका छन् भने डोटीको आदर्श गाउँपालिकाका १६ र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण भएको बताएका छन् ।
यस्तै डोटी जिल्लामा जडान भएको कोरोना परिक्षण प्रयोगशालामा १८ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा एक सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ५ जना, वडा नम्वर ६ का ३ जना, वडा नम्वर २ का २ जना, वडा नम्वर ३, वडा नम्बर ४ र वडा नम्बर ८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसै गरी जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ३ तथा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जनामा तथा केआई सिंह गाउँपालिका १ जनामा पनि संक्रमण पुष्टी भएको इन्चार्ज श्रेष्ठले बताए ।