ग्यालेक्सी माविले मनायो ३०औं वार्षिकोत्सव

ग्यालेक्सी माविले मनायो ३०औं वार्षिकोत्सव

 

धनगढी  । धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित ग्यालेक्सी माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक भव्य कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दले ग्यालेक्सी मावि सुदूरपश्चिम प्रदेशमा अब्बल विद्यालयको रुपमा स्थापित हुदै गएको बताए । ‘विद्यालय विद्यार्थीहरुलाई पढाउने संस्था मात्र हैन, पढाईसँगै अतिरिक्त क्रियाकलापमा उतिकै ध्यान दिनु पर्छ, चन्दले भने, ‘जुन ग्यालेक्सी माविमा छ । अतिरिक्त क्रियाकलापमा अगाडी छ ।’

पुर्व सांसद महेश्वर पाठकले  वार्षिकोत्सवमा विद्यार्थीले देखाएको प्रतिभाले खुशी बनाएको बताए । ‘विद्यार्थीको भविष्य बनाउने शिक्षकको हातमा हुन्छ, पाठकले भने ‘यस विद्यालयका शिक्षक÷शिक्षिकाले गरेको मेहनतबाट आज विद्यार्थी सफल भएका छन् । शिक्षकसँगै अभिभावकले नानीबाबुको ध्यान राख्नु पर्ने जरुरी छ ।’

नाष्ट कलेजका प्रमुख शिवहरि मुडभरी शर्माले ग्यालेक्सी माविको सक्षम व्यवस्थापनले विद्यालय प्रगतितर्फ लम्कदै गएको बताए । ‘बालबालिकाको पहिलो विद्यालय आफनो घरपहिलो शिक्षक उसको आमाबुवा हो, उनले भने ‘साना नानीबाबुलाई मोवाइलको कुलतबाट बचाउनु पर्छ । हामीले खाना पकाउने बेला, काम गर्ने बेला साना बालबालिकालाई मोवाइल दिएर आफनो काममा व्यस्त हुन्छौ । त्यसले बालबालिकामा पारेको असर हामीले ध्यान दिदैनौ ।’

ग्यालेक्सी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल छत्रराज पण्डित विद्यालयको प्रगति तथा संचालन भएका गतिविधिबारे जानकारी दिएका थिए । ग्यालेक्सी माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले शिक्षक अमिन सत्गौवा, शिक्षिका दिपा भट्ट र विद्यालयका सवारी चालक राजाराम चौधरीलाई नगद र दोसल्ला सहित सम्मान गरेको छ ।

विद्यालयले ३०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शैक्षिक तथा विभिन्न प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई पनि प्रमाणपत्र र ट्रफी सहितका पुरस्कार वितरण गरेको छ ।

उत्कृष्ठ बिद्यार्थीहरु सम्मानित

एस.ई.ई. परीक्षा २०७९ मा यस विद्यालयबाट सामेल भई सुदुरपञ्चिम क्षेत्रमै ४ जी.पि. ए. सहित उत्तीर्ण भएकी छात्रा नितु विष्ट, राष्टिय परिक्षा बोर्ड द्वारा २०८० सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा विद्यालयमा उत्कृष्ट अंक ३.६९ जी.पि. ए. सहित उत्तीर्ण छात्र निखिल सिंह बिष्टलाई नगद, प्रमाणपत्र सहित दोसल्लाबाट सम्मानित गरिएको छ । यसैगरि एमबीबीएसका लागि सीईद्वारा २०८० सालमा लिइएको प्रतिस्पर्धात्मक परीक्षामा ६५औं स्थान सहित पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल छात्र शुसान्त मडै, आइओइद्वारा लिइएको परीक्षामा इन्जिनियरिङ तर्फ पुर्ण छात्रवृत्तीमा ८७ औं स्थानमा नाम निकाल्न सफल छात्र निशान उपाध्यायलाई पनि कार्यक्रममा सम्मानित गरिएको छ ।