धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

धनगढीमा भोकेसनल स्कुल भवनको शिलान्यास

धनगढीमा भोकेसनल स्कुल भवनको शिलान्यास

धनगढी । धनगढी १८ मा भोकेस्नल स्कुल भवनको शिलान्यास गरिएको छ । धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालित व्यावसायिक तालिम केन्द्र अर्थात भोकेस्नल स्कुल भवनको सोमवार शिलान्यास गरिएको हो । धनगढी १८ फूलबारीमा तालिम केन्द्रको शिलान्यास उपमहानगरपालिकाको तर्फबाट प्राध्यापक डाक्टर हेमराज पन्त र युथ फाउन्डेसनको तर्फबाट अध्यक्ष सोम पनेरूले तालिम केन्द्रको शिलान्यास गरेका हुन्।

कार्यक्रममा नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा काम गर्न पाउँदा एकदमै खुसी लागेको बताएका छन्। उनले व्यावसायिक  तालिम केन्द्रले युवा लक्षित ४ प्रकारका सीप विकास तालिम गर्दै आएको बताए । तालिम केन्द्रबाट ५५० घण्टे वेल्डर  र ३९० घण्टे पलम्बर, ईलेक्ट्रिसियन तथा फर्निचर मेकर तालिम प्रदान गरिँदै आएको छ । निकट भविष्यमै फुलबारीमै आवासीय भवनबाट युवाहरूले सीपमुलक तालिम लिन पाउने पनेरूले बताएका छन् ।

अध्यक्ष पनेरूले यस क्षेत्रको कृषिको सम्भावनालाई लक्षित गरी आधुनिक कृषि प्रणाली सम्बन्धी पनि तालिम तथा उपकरण मर्मतमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

तालिम केन्द्र शिलान्यास भएसँगै पहिलो चरणमा एक प्रशासनिक भवन, दुई वटा तालिम व्लक, तीन वटा सानो भवनहरु  तथा घेरवार सहितको संरचना निर्माण गरिने छ ।

तालिम केन्द्र सञ्चालनमा आएको  पाँच  वर्ष पश्चात युथ फाउन्डेसनले सञ्चालन, व्यवस्थापन साथै संरक्षणको जिम्मेवारी धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ ।

कार्यक्रममा उपस्थित युथ फाउन्डेसनको नेपाली बालबालिका सहयोग कार्यक्रमकी प्रतिनिधि श्रीमती हाजेल ग्रेसले धनगढीमा युवा लक्षित कार्यक्रम सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले युवा लक्षित कार्यक्रम सफल पार्न आर्थिक तथा जनशक्तिको सहयोग गर्ने बताएकी छन् ।

नगर प्रमुख गोपाल हमालले फुलबारी क्षेत्रमा सञ्चालनमा रहेको व्यावसायिक तालिम केन्द्रमा सुदूरपश्चिमका सबै जिल्लाका इच्छुक युवाले तालिम लिन सक्ने बताए । नगर प्रमुख हमालले सीपमूलक तालिम पश्चात युवाहरूले विभिन्न स्थानमा सहज रोजगारी पाउने अवस्था निर्माण भएर गरिबी घटाउन सकिने विश्वास गरेका छन् ।

नगर प्रमुख हमालले व्यावसायिक तालिमले रोजगारीका अवसर प्रदान गर्ने र गरिबीको दरलाई घटाउन मद्दत गर्ने बताएका छन् । नगर प्रमुख हमालले निर्माण हुन लागेका भवनहरु नागरिकको सम्पत्ति हो भन्ने ठानेर निर्माण पश्चात संरक्षणमा सबै जनाले ध्यान दिनुपर्ने बताएका छन् ।

शिलान्यास पश्चात बोल्दै प्राध्यापक डाक्टर हेमराज पन्तले धनगढी उपमहानगरपालिकाको अहिलेको नेतृत्वले रचनात्मक काम गरिरहेको बताए । उनले उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तालिम केन्द्रबाट सुदूरपश्चिमका युवाहरूले सक्दो बढी लाभ लिनुपर्ने बताए ।

शिलान्यास कार्यक्रममा उपस्थित अतिथिहरूलाई वडा अध्यक्ष भुवन रिजालले स्वागत गरेका थिए ।