धनगढी पोष्ट
शुक्रबार, १९ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशकको राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । पछिल्ले केही दिन यता समुदायमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
बिहिवार सम्म धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई सय ८५ पुगेको छ जसमा स्थानीय संक्रमित १ सय १३ जना रहेका छन् । धनगढी उपमहानगरपमलिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बिहिवार सम्म पुष्टि भएका संक्रमित मध्य एक सय १३ जना ट्राभल हिस्ट्री नभेटिएको बताए । ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ ।
जनस्वास्थ्य निरिक्षक उपाध्यायले बिहिवार मात्र धनगढीका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २६ जनाको ट्राभल हिस्ट्री नदेखिएको जानकारी दिए । उपमहानगरको बजार क्षेत्रमा बढी जोखिम देखिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले नगरक्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन आग्रह गरे । उनले भने–‘धेरै संक्रमित देखिएको ठाउँमा सिल गरेर बढी भन्दा बढी परिक्षण गर्ने तयारीमा छौं ।’ उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ । सबैभन्दा बढि वडा नम्वर ५ मा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।