धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

ललितपुरमा राति १० बजेसम्म कर्फ्यू

काठमाडौँ

   ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र आज (शुक्रबार) बिहानैदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यू बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ ।

   मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभर भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकामा कर्फ्यू लगाउने निर्णय बिहीबार साँझ गरेको थियो ।

 ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ ।

 कर्फ्यू जारी भएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि घर बाहिर निस्कन दिएको छैन । अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई समेत चेकजाँचमा कडाई गरिएको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप भएको थियो ।

कर्फ्यू जारी भएको क्षेत्रमा घरबाट बाहिर निस्केमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।