धनगढी पोष्ट
शनिबार, २० भदौ २०७७ मा प्रकाशित
नेपालगञ्ज
कोराना कहरमा पनि मानव बेचबिखन तथा ओसारपसारका नरोकिएको पाइएको छ । नेपालगंजमा मात्र बन्दाबन्दीमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो ।
माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट १७ जना युवती हराएका छन् । उनीहरुले घरपरिवारले खोजतलासका लागि निवेदन दिएका छन् ।
१७ मध्येमा पाँचजना भेटिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार, एक महिलाले दुई किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै काठमाडौँ पु¥याएकी थिइन् ।
बन्दाबन्दीले सवारी साधन नचलेको, एक जिल्लाबाट अर्को जिल्लामा कठिनाई भइरहेको बेलामा युवतीलाई राम्रो कामको बहानामा जोखिमपूर्ण यात्रामा लगिएको पाइएको हो । माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले विगतमा जसरी भारत तथा तेस्रो मुलुक नै पु¥याउन नसकेपनि दलालले किशोरीहरुलाई आन्तरिक बेचबिखनको चपेटामा पारेको बताए ।
यो वर्ष बाँके नाकाबाट ५ सय ८५ जना हराएको निवेदन परेको छ । त्यसमा २ सय ८० जना फेला परेका छन् । यो तथ्यांक विगतको भन्दा कम हो । चैत्र महिनापछि भारत तथा तेस्रो मुलुक जान नपाएकाले जोखिमपूर्ण यात्रा गर्ने र हराउनेको संख्यामा कमी देखिएको छ ।
माइती नेपाल, नेपालगञ्जले एक वर्षमा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा निस्केका ५ सय ७७ जनालाई घर फिर्ता पठाएको छ । माइती नेपालले नाकामा प्रहरीसँग मिलेर जोखिमपूर्ण यात्रा रहनेलाई फिर्ता पठाउने गर्दछ ।