धनगढी पोष्ट
शनिबार, २० भदौ २०७७ मा प्रकाशित
धनगढी
कञ्चनपुरमा बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार राती डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको आज सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले शुक्रबार राती ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका र उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।