धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

दुबै हात गुमाएका कैलालीका मानबहादुरको आर्थिक अभावमा उपचारमा समस्या

दुबै हात गुमाएका कैलालीका मानबहादुरको  आर्थिक अभावमा उपचारमा समस्या

धनगढी

  झण्डै एक महिना अघि करेन्ट लागेर दुबै हात गुमाएका कैलालीका एक युवकलाई आर्थिक अभावमा उपचारमा समस्या भएको छ ।

करेण्ट लागेर दुबै हात गुमाएका धनगढी उपमहानगपालिका३ बिशालनगरका ३१ वर्षीय मान बहादुर बस्नेत (मनोज) को आर्थिक अभावमा उपचार हुन सकेको छैन ।

 अहिले सम्म झण्डै १२ लाख खर्च गरिसके पनि अझै २५ लाख जति खर्च लाग्ने भएपछि आर्थिक सहयोग गरिदिन उनले अपिल समेत गरेका छन् ।

  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थायी घर भएका मानबहादुरको गएको साउन १३ गते करेन्ट लागेर पुरै शरीर जलेको  थियो । उनको धनगढी उपमहानगरपालिका३विशालनगरमा फलामको काम गदै गर्दा करेन्ट लागेर शरीर जलेको हो ।

  बिशालनगरमा चन्द्रा पाण्डेयको घरमा ग्रिलको काम गर्ने क्रममा विद्युतको राष्ट्रिय प्रसारण लाईनबाट करेण्ट लागेर घाईते भएका बस्नेतलाई धनगढीमा उपचार संभव नभएपछि काठमाण्डौं लगिएको छ । उनको प्राथमिक उपचार धनगढीको स्थानीय मायामेट्रो अस्पतालमा गरिएको थियो । मायामेट्रोमा उपचार सम्भव नभएपछि साउन १५ गते काठमाण्डौं रिफर गरिएको थियो ।

  हाल उनी काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार गराईरहेका छन् । बस्नेतको उपचारकै क्रममा दुईटै हात काटिएको उनका ज्वाई नरेन्द्र गिरीले बताए । ग्रिल व्यवसाय सञ्चालन गरेर श्रीमती र दुई छोरा छोरीको लालनपालन गर्दै आएका बस्नेतको उपचारका क्रममा घर समेत बेचिईसकेको छ । अहिलेसम्म करीव १० देखि १२ लाख रुपैया खर्च भईसकेको गिरीले बताए ।

गिरीले भने–‘अझै उपचारमा २० देखि २५ लाख रुपैया लाग्ने अनुमान गरिएको छ,यति ठूलो रकम कहाँबाट जुटाउने समस्या भएको छ ।

 गिरीले थपे– ‘केही मनकारी व्यक्तिले उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ, अझै देशविदेशबाट सहयोग भए उपचार संभव हुने थियो । उपचारका क्रममा बस्नेत संग ओत लाग्ने घर र पैसा सबै सकिएकोले परिवारको भरणपोषणका लागि समेत समस्या भएको उनले बताए ।

 उनले मानबहादुर बस्नेत र कुमारी बिन्दु बोहराका नाममा एनआईसी एशिया धनगढीमा रहेको ३८५४४५९७२९५२४००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन देशविदेशमा रहेका नेपाली दाजुभाई तथा संघसंस्थाहरुलाई आग्रह गरेका छन् । अहिले सम्म उनले ताप्लेजुङ सुकेटार घर भई हाल जर्मनी बस्दै आएका मनकारी व्यक्ति कालीदास तिवारीले ५३ हजार चार सय एक रुपैया सहयोग गरेकोमा आभार व्यक्त गरे ।

 विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनकै मुन्तिर रहेको घरमा ग्रिलको काम गरिरहेका बस्नेत सोही घरमा काम गर्ने क्रममा फलामको रड लिएर तेस्रो तलामा गएकै बेला राष्ट्रिय प्रसारण लाईनबाट करेण्ट लागेर ढलेर घाईते भएका थिए ।