धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
हिरासत भित्र युवक मृत्यु प्रकरण

सत्य तथ्य छानविन गर्न नेपाल दलित बिद्यार्थी संघको माग

धनगढी

 शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको शौचालयमा युवक मृत अवस्थामा भेटिएको भनिएको घटना प्रति नेपाल दलित बिद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 संघले शुक्रबार बेलुका एक बिज्ञप्ती प्रकाशीत गरि  धनगढी उपमहानगरपालिका वडा नं. ५ का १९ बर्षिय युवा रोशन बि.क प्रहरी हिरासतमै मृतक भेटिएको घटना प्रति गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेको छ ।

 संघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तपेन्द्र भुषालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ –‘सामान्य चोरीको घटनामा प्रहरी हिरासतमा रहेका रोशन बि.क थुनुवा कक्षको शौचालयमा पासो लगाएको अवस्था भेटिएको प्रहरीले बताई रहदा मृतकका परिवार,आफन्त तथा अन्य सर्बधारण नागरिकहरुले समेत प्रहरीको चरम यातनाका कारण मृत्यु हुन गई झुण्डाईएको हुन सक्ने आशंका गरिरहेका छन् । लाशको प्रकृती हेर्दा समेत उनको टाउँको र अनुहारमा गम्भिर चोटपटक लागेको प्रस्ट रुपमा देखिरहेको छ ।

  बिज्ञप्तीमा अगाडी भनिएको छ –‘ब्यक्तिबाट जानअन्जान गल्ती,कमी कमजोरी हुन सक्छ । गलत गर्नेलाई कानुनको दायरा भित्र रहेर कारवाही गर्ने अधिकार प्रहरी प्रशासनलाई छ तर कानुनी दायरा भित्र आईसकेको जोसुकै ब्यक्तिको जीउ ज्यानको सुरक्षा गर्नु पनि प्रहरी प्रशासनको दायित्व हुन जान्छ । प्रहरी प्रशासनको नियन्त्रणमा रहेको ब्यक्तिको यस प्रकृतीको शंकास्पद मृत्युले प्रहरी प्रशासन प्रति मात्र नभई कानुनी राज्य माथि नै प्रश्न चिन्ह खडा गरेको छ भन्ने हाम्रो बुझाई रहेको छ ।

   ‘घटनाको सत्य तथ्य बाहिर आउने गरि उच्च स्तरिय निश्पक्ष छानबीन होस् भन्ने पिडित परिवारको माग रहेको छ र तत्कालन छानबीनको प्रकृया अघि बढाउन समेत हामी नेपाल सरकार गृह मन्त्रालयसंग जोडदार माग गर्दै यस घटनामा दोषी देखिने जो कोहीलाई कडा कानुनी कारवाही सहित मृतकको परिवारजनलाई क्षतिपुर्तीको समेत माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।

 घटनाको सत्य तथ्य छानविन नगरे आन्दोलन गर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।