धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

झण्डै २० बर्ष पछि धनगढी बाजुरा हवाई सेवा सुरु

झण्डै २० बर्ष पछि धनगढी बाजुरा हवाई सेवा सुरु

धनगढी

  झण्डै २० बर्ष अघि रोकिएको धनगढी बाजुरा हवाई सेवा पुन सुरु भएको छ । द्धन्दकाल सुरु भएयता रोकिएको हवाई सेवा पुन सुरु भएको हो ।

  शुक्रबार देखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी देखि बाजुराको कोल्टी बिमानस्थलका लागि उडान भर्न शुरु गरेको छ । समिट एयरले शुक्रबार  बाजुराको कोल्टी देखि धनगढी र धनगढी देखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए ।

  २० बर्ष अघि बाजुराको कोल्टी देखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीसँग सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भए पछि धनगढीसँगको हवाई सम्पर्क अबरुद्ध भएको थियो । बाजुरा नेपालगंंजसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन । हवाई सेवामा बाजुरा धनगढीसँग जोडिए पछि स्थानीयले खुसी ब्यक्त गरेका छन ।

  नागरिक सेवा सरकोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले विगतका बर्षदेखिनै बाजुरा प्रदेश राजधानी धनगढी संग हवाई सम्पर्कमा जोडिनु पर्ने माग नागरिक स्तरमा बढेको र अहिले सो सेवाको शुरुवात भएकोमा खुसी लागेको बताए । बाजुरा धनगढी संग हवाई सेवामा जोडिएकाले यहाँका नागरिकलाई प्रदेश राजधानी जान आउन सहज हुने अपेक्षा गरिएको छ । पहिले कच्ची रहेको कोल्टी बिमानस्थ लगत बर्ष मात्रै कालोपत्रे भएको थियो ।