धनगढी पोष्ट
मङ्गलबार, ३० भदौ २०७७ मा प्रकाशित
धनगढी
पाँच दिन अघि धनगढीमा संचालित दिनेश संचार गृहमै प्रबेश गरि पत्रकारलाई सांघातिक आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित छन् ।
घटना भएको ५ दिन सम्म पनि दोषिलाई पक्राउ गरिएको छैन । भदौ २६ गते समाचारको बिषयलाई लिएर एक समुहले दिनेश संचार गृहमा प्रबेश गरि त्यहाँ कार्यरत पत्रकारलाई आक्रमण गरेको थियो । घटना लगत्तै देखि दोषिलाई कार्वाहीको माग गर्दै आएको नेपाल पत्रकार महासंघ कैलाली शाखाले घटनाको भोलिपल्ट अर्थात भदौ २७ गते स्थानीय प्रशासनलाई दोषिलाई पक्राउ गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । २४ घण्टे अल्टिमेटम पछि पनि आक्रमणकारी पक्राउ नभएपछि शाखाको अगुवाईमा पत्रकारको भेलाले चरणबद्ध आन्दोलन नै शुरु गरेको छ ।
आन्दोलनकै क्रममा सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई घटनाका समन्धमा ध्यानाकर्षण पत्र बुझाईएको छ । ध्यानाकर्षण बुझ्दै मुख्यमन्त्री भट्टले दिनेश सञ्चारगृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाही हुने बताए । नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उनले घटनामा संलग्नलाई कारवाही हुने बताएका हुन् ।
सञ्चारगृहमाथि आक्रमण भएको जानकारी पाउने वित्तिकै आफूले प्रहरी, प्रशासनसँग कुराकानी गरेको उनले बताए । समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चारगृहमै आक्रमण गर्नु दुखद भएको मुख्यमन्त्री भट्टले बताए ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै आक्रमण भएको चार दिनसम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।
यता, कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले आन्दोलन जारी राखेको छ । पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै सोमबार बिहान साढे ९ बजेदेखि ११ बजे सम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो । आन्दोलनकै क्रममा आज सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बिहान दस देखि ११ बजे सम्म धर्नाको कार्यक्रम रहेको छ ।
‘आक्रमण भएको पाँच दिन पुगिसकेको छ,’ पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष जगत साउँदले भने– ‘प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न चाँसो नै दिएको देखिएन् । प्रहरी प्रशासनको भूमिकामाथि आशंका गर्ने ठाउँ देखियो ।’ अध्यक्ष साउँदले आजको धर्ना पछि आज बेलुका सम्म पनि आक्रमणकारीलाई पक्राउ गरिएन भने थप संघर्षका कार्यक्रम सहित अघि बढ्ने बताएका छन् ।
यता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आक्रमणकारीलाई पक्राउ गर्न घटना लगत्तै देखि प्रहरी परिचालन गरिएको बताउँछन् । उनले भने–‘घटना समन्धमा हामी निकै गम्भिर छौं, आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका छौं ।’