धनगढी पोष्ट
आइतबार, ३२ जेठ २०७७ मा प्रकाशित
पर्वत
पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । पर्बतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार बेलुका वर्षासँगै आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको हो ।
शनिबार बेलुका मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको मृत्यु भएको हो । उनीहरुको शव शनिबार राति नै फेला परेको थियो । यस्तै आइतबार बिहान दीपा थापा र कमला विकको शव फेला परेको प्रहरीले जनाएको छ । थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुईजना बेपत्ता छन् ।
उनीहरुको स्काभेटर प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए ।
राति १ बजेसम्म खोजी गरे पनि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । आइतबार बिहानदेखि पुनः उद्धार कार्य सुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशु चौपाया समेत मरेका छन् ।