धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

वामदेवलाई सांसदका रुपमा काम नगर्न सर्वोच्चको आदेश

धनगढी

 सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई तत्काल राष्ट्रिय सभामा काम नगर्न आदेश दिएको छ ।

 राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयनविरूद्ध बुधबार अन्तरिम आदेश जारी गर्दै सो आदेश दिएको हो ।

 सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको बुधबारको एकल इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगर्न(नगराउन अन्तरिम आदेश जारी गरेको हो । मुद्दा किनारा नलागेसम्म गौतमले सांसदका रुपमा काम गर्न पाउने छैनन् ।

 गौतमको मनोनयन संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । गत आमनिर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारले भदौ २९ गते राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले गौतमलाई असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन् । उनले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग सफथ पनि लिइसकेका छन् ।