धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

गृहमन्त्री थापा गुल्म शिलन्यास गर्न दार्चुलाको छाङरुमा

गृहमन्त्री थापा गुल्म शिलन्यास गर्न दार्चुलाको छाङरुमा

धनगढी

   गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरी गुल्मको शिलन्यासका लागि शुक्रबार दार्चुलाको छाङरु पुगेका छन् । उनी दार्चुलाको छाङरुमा निर्माण भइरहेको सशस्त्र प्रहरीको गुल्म भवन शिलन्यास गर्न शुक्रबार दार्चुलाको व्यास गाउँपालिकामा पर्ने छाङरु पुगेका हुन् ।

   थापा काठमाण्डौबाट नेपाली सेनाको स्काइ ट्रकमा सुर्खेत हुदै त्यहाँबाट सेनाकै हेलिकप्टरमा दार्चुला पुगेका छन् । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भएसँगै बहुउद्देश्यिय भवन निर्माण गर्न लागिएको छ ।

गृहमन्त्री थापाले गुल्मको शिल्यानसँगै सो क्षेत्रको अनुगमन समेत गर्ने छन् । उनी सँगै गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका आइजीपि शैलेन्द्र खनाल लगायत ११ जना रहेका छन् ।

 गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरु स्थित गागामा सार्ने निर्णय गरेको हो । डिएसपिको कमाण्डमा रहेको गुल्ममा एकसय ६० जनाको टोली परिचालन गरिएको छ ।

  सरकारले पहिलोपटक छाङरुमा वैशाख अन्तिम साता बीओपी स्थापना गरेको थियो । इन्स्पेक्टरको कमाण्डमा २५ जना रहँदै आएकोमा अहिले छाङरुमा गुल्म स्थापना भएपछि डीएसपी धीरेन्द्र शाहको नेतृत्वमा टोली खटिएको छ ।