धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बझाङकी बालिका सम्झना कामीको बलात्कार पछि हत्या

धनगढी

  बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि नै हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।

जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टममा वालिकाको बलात्कार पछि हत्या भएको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला अस्पताललले शनिवार बेलुका प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोटमा यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको उल्लेख छ, प्रहरी अधिकारीले भने– ‘टाउको, अनुहार, पिठिउँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको र बाहिरी चोटहरू सम्झनाले बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ ।

सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको प्रहरी अधिकारीले बताए । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ ।

 जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको   बताए । घटनामा संलग्नको आशंकामा पक्राउ परेका राजेन्द्र बोहरामाथि थप अनुसन्धान अगाडी बढाएका छौं डिएसपी खड्काले भने–‘शनिवार पनि घटनाको तथ्य संकलनका म सहित ९ जनाको टोली घटनास्थल गएका थियौं । घटना हेर्दा गम्भिर तरिकाको हो, घटनामा संलग्न एक पक्राउ परिसकेको छ, उनले भने,–‘थप तथ्य फेला पार्नका हाम्रो अनुसन्धान जारी रहेको छ । अनुसन्धानमा अहिलेसम्म फेला परेको प्रमाणहरु हेर्दा बोहराले नै यो घटना घटाएको लगभग स्पष्ट भएको डिएसपी खड्काको भनाई छ ।

  बुधबार साँझ घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाले गोठ पुग्न नपाउँदै बीच बाटोमा मृत्युवरण भएको थियो । घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ।  बोहरा यस अघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दावी छ।

 सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययन गर्थिन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनको आमा बाबु रोजगारीका लागि भारतमा रहेका छन् ।